तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सरोकार तथा समन्वय समितिद्वारा पशुपति क्षेत्र विकास कोषको प्रारम्भिक प्रतिवेदन सार्वजनिक 

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले पशुपति क्षेत्र विकास कोषको स्थलगत अनुगमन गरी प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । 

समितिको आज सिंहदरबारमा बसेको बैठकमा सार्वजनिक गरिएको  प्रतिवेदन अनुसार हिन्दुहरूको पवित्र धार्मिक स्थल पशुपति क्षेत्रमा सरसफाइ नभएको, पाशुपत क्षेत्रभित्र पर्ने जग्गाको संरक्षण नभएको, मन्दिर दर्शन गर्न आउनेहरूका लागि पार्किङको समस्या भएको पाइएको छ । 

भेटी बाहेक ५० करोड वार्षिक आम्दानी रहेको पशुपति क्षेत्र विकास कोषले आन्तरिक स्रोतअन्तर्गत पर्ने बहाल बक्यौता असुल गर्न नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

प्रतिवेदनमा कोषलाई तत्काल आफ्नो सम्पत्ति पहिचान गरी संरक्षण गर्न सुझाव दिएको छ । 

त्यसैगरी, पशुपति क्षेत्रमा सफा बागमतीको जल व्यवस्था गर्न, सरसफाइमा जोड दिन र विद्युतीय शबदाह गृहलाई विस्तार गरी प्रयोग गर्न प्रतिवेदनमा सुझाव दिइएको छ । 

बैठकमा  समितिका सांसदहरुले  विश्वमा प्रसिद्ध पशुपति संरक्षण  गरी पर्यटनको विकास गर्न सरकारलाई आग्रह गर्नुभयो । 

उहाँहरूले  कोषभित्र हुने गरेको अनियमिता रोक्न र मन्दिरको सरसफाइ गर्नुपर्नेमा जोड दिनुभयो । 

बैठकमा समितिका सभापति दीलकुमारी रावल पार्वतीले पशुपति क्षेत्र विकास कोषले ५ वर्षअघि समितिले दिएको निर्देशन कार्यान्वयन नगरेको भन्दै सम्बन्धित निकायसँग छलफल गरेर पुनः सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button