तपाईँ सुन्दै हुनुहुन्छः

‘सत्ता र सम्पत्तिका लागि जे पनि गर्नेहरूका कारण देश अप्ठ्यारोमा’

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सत्ता र सम्पत्तिका लागि जे पनि गर्नेहरूका कारण देश अप्ठ्यारो अवस्थामा आइपुगेको बताउनुभएको छ ।

वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको बाह्रौँ कृति ‘कालपात्र’ सार्वजनिक गर्नुहुँदै उहाँले भ्रष्टाचार र कमिसनको साँठगाँठलाई तोडेर मात्र देश बनाउन सकिनेमा जोड दिनुभयो । नयाँ मूल्य स्थापित गरेर समाजलाई उन्नत बनाउनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आफू मन्त्री हुँदा कर्मचारी राखेर मात्र निर्माण व्यवसायीसँग कुरा गरेको प्रसङ्ग पनि कार्यक्रममा उहाँले सुनाउनुभयो । यस्ता कामको सुरुआत नगरी नयाँ मूल्य स्थापित नहुने उपप्रम श्रेष्ठको भनाइ छ ।

कार्यक्रममा लेखक दाहालले राजनीतिमा अपराध भइरहेको पीडाले उपन्यासको जन्म भएको जानकारी गराउनुभयो । मसानघाटबाट सुरु भएर मसानघाटमै ‘कालपात्र’ उपन्यास सकिने उहाँले सुनाउनुभयो । देश, संस्था कुनै पनि तह र तप्काको नेतृत्व गर्नेले ‘कालपात्र’ उपन्यास पढ्नै पर्ने लेखक दाहालले बताउनुभयो ।

पूर्वसांसद शोभाकर पराजुलीले उपन्यास मानवतावादको उत्कृष्ट उदाहरण रहेको बताउनुभयो । राजनीतिका नाममा नैतिकता र मानिसको व्यापार भइरहेको उहाँको भनाइ थियो । खराब गर्नेहरू थोरै भए पनि सङ्गठित हुँदा समाज नै भ्रष्ट भएजस्तो देखिएको उल्लेख गर्नुहुँदै उहाँले असल मानिसको पुनरोदयका आशा उपन्यासले गरेको बताउनुभयो ।

उपन्यासमाथि समीक्षात्मक मन्तव्य व्यक्त गर्नुहुँदै प्रा डा ज्ञानु अधिकारीले वर्तमान राजनीति, पत्रकारिता र पूर्वीय दर्शनको त्रिकोणात्मक सम्बन्धले उपन्यासका कथानक अघि बढेको बताउनुभयो । उपन्यासको आरम्भ र अन्त्यमा दार्शनिक चिन्तन आएको उहाँले सुनाउनुभयो । उपन्यासका पात्रका नाम पनि मौलिक रहेको समीक्षक अधिकारीले सुनाउनुभयो ।

नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले आजको नेपालको यथार्थ चित्र उपन्यासमा भेट्न सकिने बताउनुभयो । जन्मने, मर्ने र फेरि जन्मने पौरस्त्य दर्शनमा आधारित उपन्यासका रुपमा ‘कालपात्र’ आएको उहाँको विश्लेषण थियो ।

कार्यक्रममा पत्रकार रामजी दाहाल र कृष्ण भुसालले ‘कालपात्र’ उपन्यासले उठाएका विषयवस्तुका बारेमा प्रकाश पार्नुभएको थियो । दाहालको उपन्यास ‘कालपात्र’ इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रालिले प्रकाशन गरेको हो । दुई सय पृष्ठको पुस्तक एलाइन्स प्रिन्टर्स एण्ड मिडिया हाउस प्रालिले मुद्रण गरेको हो । उपन्यासका मूल्य रु ५२५ तोकिएको छ ।

लेखक दाहालका यसअघि शान्ता उपन्यासको नेपाली र अङ्ग्रेजी संस्करण प्रकाशन भइसकेको छ । लेखकको यो दोस्रो उपन्यास हो । उहाँका साँध, अन्धकारको यात्री, काला बादलमा उज्याला पाइला गरी तीन वटा कविता सङ्ग्रह प्रकाशित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button