तपाईँ सुन्दै हुनुहुन्छः

नागरिक उन्मुक्ति पार्टीका नेता चौधरी रिहा

काठमाडौँ ।  कैलालीको टीकापुर घटनामा कैद सजाय पाएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी आज गणतन्त्र दिवसका अवसरमा जेलमुक्त हुनुभएको छ । 

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीसहित १९ व्यक्तिलाई कैद सजाय माफी गर्नुभएपछि उहाँ डिल्लीबजारस्थित सदरखोरबाट रिहा हुनुभएको हो । 

चौधरीको रिहाइपछि उहाँ सम्बद्ध पार्टीका नेता कार्यकर्ता एवं शुभेच्छुकले स्वागत गर्नुभएको थियो । जेलमुक्त भएपछि चौधरीले माइतीघर मण्डलामा पुगेर नेता कार्यकर्तामाझ खुसी आदान प्रदान गर्नुभएको थियो । उहाँ भेटघाटका लागि केहीबेर अघि कैलाली पुग्नुभएको छ ।

विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रदर्शनका क्रममा हिंसात्मक झडप हुँदा आठ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । सोही घटनाको दोषी ठहर गर्दै चौधरीलाई जन्मकैदको सजाय हुने गरी अदालतले फैसला गरेको थियो । 

राष्ट्रपति पौडेलले यही जेठ १२ र १४ गते मन्त्रिपरिषद्को बैठकको सिफारिसअनुसार टोपबहादुर बुढासमेत १९ जनालाई कैद सजाय माफी दिनुभएको हो । विभिन्न अदालतबाट विभिन्न समयमा भएका फैसलाबमोजिम उनीहरूको कैद सजाय माफ गरिएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button