वीरगंज कारागारबाट १९ जना कैदीबन्दी रिहा

पर्सा । वीरगञ्ज कारागारबाट १९ जना कैदीबन्दीलाई रिहा गरिएको छ । आज गणतन्त्र दिवसको अवसरमा विभिन्न मुद्दामा कैदी जीवन बिताइरहेका १४ जनालाई कैद मिनाहा र ५ जनालाई आममाफी दिइएको हो ।
चालचलनमा सुधार र भुक्तान हुनुपर्ने कैद समयको ५० प्रतिशत भुक्तान गरिसकेकाहरूलाई रिहा गरिएको कारागारले जनाएको छ ।
रिहा हुनेहरू सवारी ज्यान मुद्दाका, चोरी मुद्दा, हातहतियार, ज्यान मार्ने उद्योग, मानिसको लापरवाहीले ज्यान गएको, वन पैदावार, चोरी लगायत गरि जम्मा १९ जना रहेको वीरगन्ज कारागारका सूचना अधिकारी नवराज बर्तौलाले जानकारी दिनुभयो ।

कैदी मिनाहा हुनेहरूमा रामसिंह राय थारु, ओमप्रकाश सहनी मलाहा, प्रकाश कार्की, चन्दन कुमार, श्याम महतो कोइरी, नागेन्द्र प्रसाद कलवार, प्रज्जवल तिवारी लगायतका रहेका छन् ।
आम माफीतर्फबाट प्रमोद महतो, रामप्रसाद साह कानु, राजेश्वरप्रसाद साह कानु, जोगिन्दर सिंह राजपुत, र मुनिलाल साह कानुलाई बिदाई गरिएको बर्तौलाले बताउनुभयो । उनीहरुलाई बिदा गरेसँगै अब कारागारमा १ हजार ४ सय ४२ जना कैदीबन्दी रहेको उहाँको भनाई छ ।
कारागारले गणतन्त्र तथा प्रजातन्त्र दिवसको अवसरमा चालचलनमा सुधार र ५० प्रतिशत सजाय कटाइसकेकालाई रिहा गर्ने चलन छ ।
प्रतिक्रिया राख्नुहोस्