‘पर्यटन क्षेत्रलाई सही ढङ्गले उपयोग गर्नुपर्छ’
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले नेपालको पर्यटन क्षेत्रलाई सही ढङ्गले उपयोग गर्नुपर्ने बताउनुभएको छ ।

पूर्व प्रशासक एवं विश्व सम्बन्ध परिषद्का अध्यक्ष हेमन्त खरेलद्वारा लिखित ‘पर्यटन र समृद्धि’ पुस्तकको लोकार्पण गर्दै उहाँले प्रचुर सम्भावना रहेको नेपालको पर्यटन क्षेत्रलाई सही ढङ्गले अगाडि बढाउनुपर्ने बताउनुभएको हो ।
“नेपालका पर्यटकीय सम्भावना बोकेका क्षेत्रमा आन्तरिक पर्यटक प्रवर्द्धन गर्नसके मात्र बाह्य पर्यटक बढ्ने भएकाले आन्तरिक पर्यटक प्रवर्द्धनमा सबै लाग्नुपर्छ”, मन्त्री भण्डारीले भन्नुभयो । उहाँले आफू पर्यटनमन्त्री भएका बेलामा तराई पर्यटकको अवधारणा अगाडि सारेको स्मरण गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य पशुपतिशम्शेर जबराले आफूले घुमेका संसारका मुलुकमध्ये उत्कृष्ट मुलुक नेपाल भएकाले यसलाई विश्वमाझ चिनाउन जरुरी रहेको बताउनुभयो । उहाँले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा विज्ञापन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेसका नेता एवं सङ्खुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक खड्काले छिमेकी मुलुक चीन र भारतका पर्यटकलाई लक्षित गर्न सके मात्र पनि नेपालको पर्यटन क्षेत्रले फड्को मार्न सक्ने बताउनुभयो । “एक पर्यटक नेपालमा आए तीन जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाउँछन्, २० लाख पर्यटक भित्र्याउन सकिए ६० लाख नेपालीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाउँछन्, नौ खर्बभन्दा बढी राजस्व आम्दानी हुन्छ”, नेता खड्काले भन्नुभयो ।
पुस्तकको समीक्षा गर्दै पूर्वराजदूत प्रा डा मोहनप्रसाद लोहनीले नेपालको पर्यटन क्षेत्रको सम्भावनालाई पुस्तकमा प्रष्ट रूपमा उजागर गर्न खोजिएको बताउनुभयो । पर्यटनको आधारलाई पहिल्याउन सकिए समृद्धि हासिल गर्न सकिने उहाँको भनाइ थियो । प्रा डा लोहनीले नेपालको पर्यटन क्षेत्रमा देखिएका चुनौतीलाई विश्लेषण गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । पर्यटन विकासका लागि पूर्वाधार आवश्यक रहेको उहाँको भनाइ थियो ।
विभिन्न छ भागमा विभाजन गरेर लेखिएको उक्त पुस्तकमा समृद्धि, पर्यटनको उत्पत्ति, पर्यटनको महत्त्व र आधार, नेपालको समृद्धिमा पर्यटनको विकास, नेपालको पर्यटकीय आकर्षण केन्द्रहरू र पर्यटन क्षेत्रको सम्भावना र चुनौतीलाई समावेश गरिएको लेखक खरेलले बताउनुभयो ।
अल्केमी पब्लिकेशनबाट प्रकाशित उक्त पुस्तक दुई सय २४ पृष्ठको रहेको छ । लेखक खरेलले कोरोनाको समयमा घरमा बस्नुपरेको समयलाई उपयोग गरी पुस्तक लेखेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्