तपाईँ सुन्दै हुनुहुन्छः

सीमाबाट हुने अवैध चोरी तस्करी नियन्त्रण गर्न प्रहरीलाई निर्देशन

सुनसरी । सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सीमाबाट हुने अवैध चोरी तस्करी नियन्त्रण गर्न मातहतका प्रहरीलाई निर्देशन दिनुभएको छ ।

उहाँले प्रहरी चौकीहरू निकै पुरानो र जीर्ण रहेको भए पनि जनताको शान्ति सुरक्षामा खटिनुभएका प्रहरीको कार्यको प्रशंसा गर्नुहुँदै सीमाबाट हुने अवैध ओसारपसार, चोरी तस्करी पूर्ण रुपमा नियन्त्रण गर्न निर्देशन दिनुभयो ।

उहाँले सीमावर्ती क्षेत्रबाट हुने अवैध चोरी निकासी, लागुऔषध ओसारपसार लगायतका सवालमा बुधबार मात्रै सीमापारिको दुई देशीय सुरक्षा अधिकारीको बैठकमा छलफल भएकाले त्यसको कार्यान्वयन गर्न भोलिपल्ट नै अनुगमन गरिएको बताउनुभयो ।

प्रहरी चौकी र सीमाको अनुगमन गर्दै सीमामा कडाइका साथ शान्ती सुरक्षा मजबुत राख्न प्रहरीलाई निर्देशन दिएको उहाँको भनाई छ । प्रजिअ पाण्डेले सुनसरीको सीमावर्ती क्षेत्रको प्रहरीको कार्यालय, बस्ने, भान्सा कोठा, नुहाउने, खाने समेत स्थानको अनुगमन तथा निरीक्षण गरिएको बताउनुभयो ।

अनुगमनमा प्रजिअ पाण्डेसहित सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गाना, प्रहरी नायब उपरीक्षक राजकुमार राई, सशस्त्र प्रहरी नायब उपरीक्षक विजय कुमार चौधरी तथा राष्ट्रिय अनुसन्धानका निरीक्षक अरुण कुमार यादव लगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button