तपाईँ सुन्दै हुनुहुन्छः

संयुक्त सदनमा कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं । संघीय संसदको आजको संयुक्त बैठकले संघीय संसदको संयुक्त समिति कार्यसञ्चालन नियमावली २०८० को मस्यौदा समितिको प्रतिवेदन माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

संघीय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको आज बसेको दोस्रो बैठकले प्रस्तावमाथिको सैद्धान्तिक छलफलपछि मस्यौदा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको हो ।

छलफलमा भाग लिँदै सांसदहरू प्रेम सुवाल र सुमना श्रेष्ठले समितिहरूमा सदस्य संख्या तोक्दा ठूला दललाई धेरै संख्या दिनुभन्दा सबै दलको प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

यसअघि आजै बसेको संघीय संसदको पहिलो संयुक्त बैठकमा संघीय संसदको संयुक्त समिति कार्यसञ्चालन नियमावली २०८० को मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले समितिको प्रतिवेदन पेस गर्नुभएको थियो भने १५ मिनेट स्थगित भई बसेको दोस्रो बैठकमा सभापति प्रधानले नै सो प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो ।
संघीय संसदको संयुक्त बैठक जेठ १४ गते बिहान ११ बजे पुनः बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button