बर्दघाटमा ट्रमा सेन्टर निर्माण हुने निश्चित
नवलपरासी । काठमाडौँ बाहिर सरकारी स्वामित्वको पहिलो सुविधा सम्पन्न ट्रमा सेन्टर पश्चिम नवलपरासीको बर्दघाटमा स्थापना हुने भएको छ ।
बर्दघाट नगरपालिका वडा न. २ चिसापानी स्थित राष्ट्रिय आवास कम्पनीको नाममा रहेको कुल ८ बिगाहा २ कठ्ठा १२ धुर जग्गा मध्ये कुल १ बिगाहा १० कठ्ठा क्षेत्रफलमा ५० शय्याको ट्रमा सेन्टर बन्ने निश्चित भएको हो ।
बर्दघाट नगरपालिका र राष्ट्रिय आवास कम्पनीको बिच भएको सम्झौता अनुसार उक्त जग्गामा अब सुविधा सम्पन्न ट्रमा सेन्टर निमार्ण हुने छ । ट्रमा सेन्टर निमार्ण पश्चात् लुम्बिनी प्रदेश क्षेत्रकै सुविधा युक्त स्वास्थ्य उपचार थलोको रुपमा स्थापित हुने विश्वास लिइएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो।
ट्रमा सेन्टर निमार्णका लागी आर्थिक बर्ष ०७८।७९ संघीय सरकारको वार्षिक स्वीकृत कार्यक्रम अनुसार रु १० करोड रुपैयाँ विनियोजन भएपनि जग्गा एकिन हुन नसक्दा उक्त रकम फ्रिज भएको नगरप्रमुख श्रेष्ठले बताउनु भयो । लामो सघर्ष पश्चात् ढिलै भएपनि ट्रमा सेन्टर निमार्णकालागी जग्गा सुनिश्चित हुनुले स्थानीय हर्षित भएका छन्।
राष्ट्रिय महत्त्वपूर्ण आयोजनाको रुपमा मानिएको ट्रमा सेन्टर निमार्ण हुने सुनिश्चितताले यस क्षेत्रको विकासमा नयाँ टेवा पुग्ने विश्वास लिइएको छ ।
ट्रमा सेन्टर निमार्णका लागि चालु आर्थिक बर्ष २०७९।०८०मा संघीय सरकारबाट कुल ४ करोड रुपैयाँ विनियोजन भएको छ । आगामी २ वर्षमा निमार्ण सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त ट्रमा सेन्टर करिब ३५ करोडको लागतमा तयार हुने सघन शहरी तथा भवन निमार्ण आयोजना चितवन कार्यालयले जनाएको छ ।
नवलपरासी पश्चिमको बर्दघाटमा निर्माण हुने ट्रमा सेन्टरमा ६ जना विशेषज्ञ सहितको स्वास्थ्य उपचार सुविधा हुनेछ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने अत्यधिक दुर्घटना स्थल दाऊन्ने तथा एस मोडको निकटमा ट्रमा सेन्टरको अवधारणा अनुसार चिसापानीमा निर्माण गर्ने निर्णय पश्चात् राजमार्गमा हुने दुर्घटनाका कारण मृत्यु हुनेको सङ्ख्या न्यून हुने बताइएको छ भने सानो उपचाकालागि पनि बुटवल तथा भारत जानुपर्ने स्थानीयको बाध्यता अब सदाकालागि अन्त्य हुनेमा स्थानीय विश्वस्त रहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्