‘मातृभाषी चलचित्रलाई राज्यले सहयोग गर्नुपर्छ’
कास्की । मातृभाषी चलचित्रलाई राज्यले सहयोग गर्नुपर्ने पोखराका चलचित्रकर्मीहरूले बताउनुभएको छ ।
‘मातृभाषी चलचित्रको महत्त्व, चुनौती र सम्भावना’बारे पोखरामा भएको बहसमा सहभागीहरूले यस्तो धारणा राख्नुभएको हो । चलचित्र पत्रकार संघ नेपालको स्थापना दिवसका अवसरमा चलचित्र पत्रकार संघ कास्कीले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा निर्देशक कृष्ण कुमार गुरुङले २०५२ सालबाट गुरुङ चलचित्र निर्माणको थालनी भएको जानकारी दिनुभयो । हालसम्म १ सय ६० चलचित्र निर्माण भएको भनाई उहाँको थियो । उहाँले २०७४ सम्मको अवधि गुरुङ चलचित्रका लागि समस्या जनक रहेको उल्लेख गर्नुभयो ।
जबसम्म मातृभाषामा बन्ने चलचित्रका लागि राज्य उदार भएर लाग्दैन, तबसम्म भाषाभाषीका चलचित्रहरू च्यारिटी बेसमा नै सीमित रहने चिन्ता उहाँको छ ।
मगर चलचित्रका निर्देशक एवम् लेखक मेजन पुन मगरले २०५१ सालबाट मगर भाषामा चलचित्र निर्माण भएको र त्यसको निरन्तरता आजसम्म कायम रहेको बताउनुभयो । हालसम्म ५५ वटा मगर भाषाका चलचित्र बनेको जानकारी उहाँले दिनुभयो ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले प्रज्ञा प्रतिष्ठानले मातृभाषाका चलचित्रको संरक्षणमा काम गरिरहेको बताउनुभयो । श्रेष्ठले मातृभाषाका चलचित्रले विशाल सोच बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्