‘खाद्यान्न आयात प्रतिस्थापन गर्ने सरकारको योजना छ’
अर्घाखाँची । कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले कृषि र पशुपालनबाट मात्र देशको अर्थतन्त्रमा सुधार हुने बताउनुभएको छ ।

मन्त्री भुसालले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि कृषिमा केही गर्न सकिन्छ भन्ने छनक देखिएको बताउँदै कृषि र पशुपालनको क्षेत्रको विकासले मात्रै अर्थतन्त्र बलियो हुने बताउनुभयो ।
कृषि र पशुपालनमा उत्पादन वृद्धि भएमा आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धन बढाउन सकिने उहाँको भनाइ छ । ‘पहिले खाद्यान्न निर्यात गर्थ्यौँ, अहिले आयात गर्छौँ। त्यसलाई प्रतिस्थापन गर्ने हाम्रो पहिलो लक्ष्य हो ।’ तराइमा सिँचाइको व्यवस्थापन गरेर कृषिमा व्यावसायीकरण गरी खाद्यान्न निर्यात गर्ने लक्ष्य सरकारको रहेको मन्त्री भुसालको भनाइ छ ।
भूमिकास्थान नगरपालिकामा आयोजित कृषिमन्त्री भुसालको सम्मान तथा अन्तरक्रियामा उहाँले नेपालमा १० लाख ३० हजार हेक्टर जमिन बाँझो रहेको र त्यस्तो जग्गामा सामूहिक खेती र सहकारी खेती गरेर उत्पादन वृद्धि गर्ने सरकारको योजना रहेको बताउनुभयो ।
भूमिकास्थान नगरपालिकाका प्रमुख झबिलाल थापाले नगरपालिकामा रहेको पाखो बारी तथा खेतका फाँटमा अन्नबाली, फलफूल, तरकारी र जडीबुटीको माध्यमबाट उत्पादन वृद्धि गर्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
कृषि र पशुपालनलाई पहिलो प्राथमिकता राखेर नगरले काम सञ्चालन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण पोख्रेलले बताउनुभयो ।
रासस







प्रतिक्रिया राख्नुहोस्