विमानमा मुसा भेटिएपछि बुद्ध एयरको जनकपुर–काठमाडौँ उडान स्थगित

जनकपुरधाम । जनकपुरधामबाट काठमाडौँका लागि उड्न भर्न लागेको बेलामा बुद्ध एयरको विमानमा मुसा भेटिएपछि उडान स्थगित भएको छ ।
आज बिहान ८ः३० बजे जनकपुरधामबाट काठमाडौँ उड्न लागेको बुद्ध एयरको विमानमा मुसा देखेपछि उडान स्थगित भएको विमानस्थल सुरक्षाका लागि खटिनुभएका प्रहरी सहायक निरीक्षक रामाकान्त चौरसीयाले जानकारी दिनुभयो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बुद्ध एयरको विमानमा मुसा देखिएको पुष्टि गर्नुभयो ।
४९ जना यात्रुको बोडिङ भइसकेपछि जहाजमा मुसा देखिएपछि उक्त विमान उड्डयन स्थगित गरेर बुद्ध एयरले अर्को विमान पठाएर यात्रीहरूलाई काठमाडौँ लगेको थियो ।
कुनै यात्रीको लगेजमार्फत नै विमानमा मुसा पसेको आशङ्का गरिएको छ । अहिले विमानलाई सरसफाइ गर्ने काम भइरहेको छ । काठमाडौँबाट इन्जिनियर बोलाएर प्राविधिक परिक्षण गरेपछि मात्रै उक्त विमान उडान गर्ने प्राधिकरणले जनाएको छ ।
जनकपुरधामको विमान स्थलमा बुद्ध एयरको जुलेट लिमा नामक विमान अहिले पनि रहेको र सरसफाइ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्