तपाईँ सुन्दै हुनुहुन्छः

चरिकोटमा अन्तर्राष्ट्रिय बुद्धिचाल (चेस) सुरु

दोलखा । दोलखा सदरमुकाम चरिकोटमा शुक्रवारबाट छैटौँ अन्तर्राष्ट्रिय बुद्धिचाल (चेस) प्रतियोगिता सुरु भएको छ ।

दोलखा चेस होमले आयोजना गरेको प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवं पूर्व सांसद जीपछिरिङ शेर्पाले गर्नुभएको थियो ।

दोलखा चेस होमका अध्यक्ष गोविन्दमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा पूर्व सांसद जीपछिरिङ लामा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सांसद कुन्दनराज काफ्ले, एमाले नेता एवं बागमती प्रदेश सांसद भरत बहादुर केसी, नेपाली कांग्रेस दोलखाका सभापति एवं स्व. भीमबहादुर स्मृति प्रतिष्ठानका अध्यक्ष बर्मा लामा, भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धर, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर, राप्रपाका सचिव रामबहादुर तामाङ, राप्रपा नेपालका अध्यक्ष नवराज श्रेष्ठ, पत्रकार महासङ्घ दोलखाका अध्यक्ष दीपशङ्कर चौलागाई, दोलखा चेस होमका उपाध्यक्ष प्रकाश श्रेष्ठ र भोजराज चौलागाईले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

स्व. भीमबहादुर तामाङको स्मृतिमा आयोजना गरिएको अन्तर्राष्ट्रिय बुद्धिचाल (चेस) प्रतियोगितामा नेपाल, भारत, श्रीलङ्का, अमेरिका र फ्रान्सका एक सय ५६ जना खेलाडीको सहभागिता रहेको दोलखा चेस होमका अध्यक्ष गोविन्दमान श्रेष्ठले जानकारी दिनुभयो ।

नौ राउन्डसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको पहिलो दिन एक राउण्ड खेल सम्पन्न भएको दोलखा चेस होमले जनाएको छ । प्रतियोगितामा पाँच जना नेपाल च्याम्पियनको समेत सहभागिता रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रतियोगिता उद्घाटनको अवसरमा बुद्धिचाल (चेस) का नेपाल च्याम्पियन रुपेश जैसवाल र सुजना लोहनी, पत्रकार चिरञ्जीवी मास्के, मेलुङ गाउँपालिकाका अध्यक्ष एवं जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष हिरा थोकर, जिल्ला भलिबल संघका अध्यक्ष रोहित खड्का र पौराणिक बाजाका संरक्षक पूर्णनारायण श्रेष्ठलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button