तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेल सडक खाली नगरी संसद् भवन जानुहुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल नीति तथा कार्यक्रम प्रस्तुत गर्न सडक खाली नगरी सामान्य तरिकाले संसद् भवन जाने हुनुभएको छ ।

राष्ट्रपति पौडेल आज राष्ट्रपतिको कार्यालय शीतल निवासबाट संसद् भवन नयाँ बानेश्वर जाँदा सामान्य नागरिक जसरी जानुहुने र सडकको सवारी आवागमनमा कुनै बाधा नपर्ने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेलले अहिले दिउँसो ४ः०० बजे दुवै सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

यसअघि भने राष्ट्रपतिको औपचारिक सवारी तथा नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् भवन जाँदा राष्ट्रपति भवनदेखि संघीय संसद् भवनसम्म सडक खाली गर्ने प्रचलन रहेको थियो ।

राष्ट्रपति पौडेल संसद् भवन परिसरभित्र प्रवेश गरेपछि भने उहाँको स्वागतमा रिसल्ला सहितको  कारकेडको व्यवस्था गरिने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button