ज्ञानको भण्डार पुस्तकालय संरक्षण गर्न सांसदहरूको माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले ज्ञानको भण्डारका रुपमा रहेका पुस्तकालयहरूको उचित व्यवस्थापन गरी संरक्षण गर्न सरकारसँग माग गरेका छन् ।
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सांसदहरुले नेपाल राष्ट्रिय पुस्तकालय, केशर पुस्तकालय तथा डिल्लीरमण–कल्याणी रेग्मी पुस्तकालयको अध्ययन अवलोकनपछि आज सिंहदरबारमा बसेको बैठकमा उहाँहरूले सरकारले पुस्तकालय संरक्षणका लागि बजेट बढाउनुपर्नेमा जोड दिनुभयो ।
पछिल्लो पुस्तामा पठन संस्कृतिको विकास हुन नसकेको भन्दै बैठकमा समितिका सांसदहरुले पुस्तकालयलाई व्यवस्थित गर्न कानून बनाउनुपर्ने, कर्मचारीको दरबन्दी बढाउनुपर्ने, पुस्तकालयलाई इलाइबेरीका रुपमा विकास गरिनुपर्ने धारण राख्नुभयो ।
बैठकमा शिक्षा सचिव रामकृष्ण सुवेदीले पुस्तकालयलाई व्यवस्थापन गर्न बजेट अभाव भएको र कानूनी अभावका कारण अप्ठेरो परेको बताउनुभयो ।
मन्त्रालयले राष्ट्रिय पुस्तक नीति बनाएर पठाएको जानकारी गराउनुहुँदै सचिव सुवेदीले अर्थ मन्त्रालयले सहमति नदिएको बैठकमा स्पष्ट पार्नुभयो ।
बैठकमा पुस्तकालय समन्वय तथा अभिलेख शाखाका यादवचनद्र निरौला र संसद् सचिवालय पुस्तकालय प्रमुख कमलादेवी शर्माले दक्ष र तालम प्राप्त जनशक्तिको कमी हुँदा इलाइवेरीमा जान समस्या परेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्