तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर

सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा दिन सरकार प्रतिबद्ध

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा दिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा सांसद ईश्वरीदेवी न्यौपानेले राख्नुभएको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले विद्यालयको संरचनागत र भौतिक सुधारमा स्थानीय सरकारसँग समन्वय गरी अघि बढ्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले नेपालमै रासायनिक मल उत्पादन गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन कार्य भइरहेको बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०७९÷२०८० को पहिलो ९ महिनामा नेपाली विद्यार्थी विदेशमा पढ्न जाँदा  ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको जानकारी दिँदै यो अवधिमा  ९०३ अरब ३९ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले माओवादी लडाकु शिविरमा भ्रष्टाचार भएको प्रमाणित भएमा आफू जेल जान तयार रहेको बताउनुभयो ।

प्रतिनिधिसभाको बैठकमा सांसद ज्ञानेन्द्र शाहीले लडाकु शिविरका विषयमा उठाउनुभएको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले लडाकु शिविरका सम्बन्धमा सबै कुरा छानबिन गर्न सकिने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायको विषय विस्तृत शान्ति सम्झौताको भावना र मर्म अनुसार नै टुङ्गो लाग्ने पनि बताउनुभयो ।

सांसद पूर्णबहादुर घर्तीले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुर्‍याउने विषयमा गर्नुभएको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोग सम्बन्धी विधेयक संशोधनको क्रममा रहेको र दलहरूबीच करिब सहमति जुटिसकेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले राजश्वको दायरा विस्तार गर्दै, फजुल खर्च नियन्त्रण गरेर आर्थिक मन्दीबाट मुलुकलाई पार लगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

सांसद पदम गिरीले सोध्नुभएको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले करको दायरा विस्तार गर्ने र राजश्व चुहावट, राष्ट्रिय पुँजी पलायन, अवैध कारोबारलाई कडाइका साथ नियन्त्रण गर्ने नीति सरकारले लिएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्च अदालतको फैसलाका कारण रोकिएको भन्दै कानुनी जटिलता फुकाएर अगाडी बढ्नु पर्ने बताउनुभयो ।

सांसद शिशिर खनाल र सांसद गङ्गाराम चौधरीले सोध्नुभएको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले सर्वोच्च अदालतको फैसलाका कारण लाल आयोगको प्रतिवेदन रोकिएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले टिकापुर घटनामा संलग्नको आरोपमा जन्मकैदको सजाय सुनाइएका रेशमलाल चौधरीको विषय छिट्टै टुङ्गो लगाउने पनि बताउनुभयो ।

सांसद शेरबहादुर कुँवर र सांसदहरु प्रेम सुवाल, रामहरि खतिवडा, विद्या भट्टराईले उठाउनुभएको प्रश्नको जवाफ प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी प्रकरणमा अपराधको निष्पक्ष अनुसन्धान भइरहेको बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारमा कुनै पनि अपराधीलाई छुट नदिने भन्दै सरकार दृढताका साथ दोषीलाई नछोड्ने र निर्दोष नपर्ने गरी विषयलाई निष्कर्षमा पुर्‍याउन लागिपरेको बताउनुभयो ।

उहाँले नेपाल प्रहरीको अनुसन्धान कार्यमा कुनै निकायबाट पनि हस्तक्षेप नभएको भन्दै ‘हस्तक्षेप हुन नदिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक एक महिनाभित्र टुङ्गोमा पुर्‍याउने गरी छलफल भइरहेको बताउनुभयो ।

सांसद दीपक कार्कीले उठाउनुभएको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउने वा राष्ट्रपति कार्यालयमा विचाराधिन र रहेको विधेयक प्रमाणीकरण गर्ने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले राष्ट्रपति कार्यालयमा विचाराधिन विधेयक शून्यमा गएको र त्यसलाई जीवित मान्न सकिँदैन भन्ने मत पनि रहेको भन्नुहुँदै एक महिनाभित्र नागरिकता विधेयक टुङ्गोमा पुग्ने बताउनुभयो ।

यसअघि, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २५२ बमोजिम नियम निलम्बनसम्बन्धी प्रस्ताव सभाको सर्वसम्मतिले पारित गरेको थियो 

। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्न सोध्ने सांसद सङ्ख्या धेरै भएपछि प्रतिनिधिसभा नियमावली २०७९ को नियम ५६ को उपनियम ५ एक दिनका लागि निलम्बन गरिएको थियो ।

बैठकमा सांसद रमेश लेखकले राख्नुभएको नियमावली २०७९ को नियम ५६ को उपनियम ५ एक दिनका लागि निलम्बन गर्ने प्रस्ताव सभाको सर्वसम्मतले पारित गरेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको “नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७८/०७९” पेश गर्नुभयो ।

सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा भोलि शुक्रबार ५ गते अपराह्न ४ः०० बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेकाले त्यसका लागि सबै सदस्यहरूको उपस्थितिका लागि आव्हान गर्नुभएको विषयमा सदनमा जानकारी गराउनुभयो ।

सभामुख घिमिरेले सांसदहरूलाई उक्त दिन ३ः४५ बजे नै आसन ग्रहण गरिसक्न र तोकिएको पोसाकमा उपस्थित हुन अनुरोध समेत गर्नुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि शुक्रबार बेलुका ६ः०० बजे बस्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button