प्रहरीलाई गृह सचिवको निर्देशन, ‘शासक होइन सेवक बन्नुहोस्’
काठमाडौँ । गृह सचिव दिनेश भट्टराईले नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन भ्रमणका क्रममा आज प्रहरी कर्मचारीहरूलाई शासक नभई सेवक बन्न निर्देशन दिनुभएको छ ।
उहाँले गृह प्रशासन मातहत कार्यरत सबैले आफू ‘शासक होइन सेवक हो’ भन्ने भावका साथ नागरिक सेवामा समर्पित भएर आर्थिक, सामाजिक रूपान्तरणको अभियानलाई सार्थक बनाई सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने कार्यमा एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय एकता, स्वाभिमान र राष्ट्रिय सुरक्षाको कार्यभारलाई आत्मसाथ गर्दै देशमा शान्ति सुव्यवस्थाको समुचित प्रबन्ध मिलाउन नेपाल प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गर्दै गृह सचिव भट्टराईले नागरिकमैत्री व्यवहार अवलम्बन गरी प्रहरीले राष्ट्र र जनतालाई केन्द्र भागमा राखेर तोकिएको जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले गृह सचिवबाट प्राप्त निर्देशनलाई सङ्गठनले पूर्ण रूपमा ऐक्यबद्ध भई अक्षरशः पालना गरी नतिजा दिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले सङ्गठन सुदृढीकरणका लागि आन्तरिक शुद्धीकरणलाई प्रस्थान विन्दु बनाउँदै जनमैत्री एवं प्रविधिमैत्री प्रहरी विकास तथा प्रहरी कार्यसम्पादन गुणस्तर अभिवृद्धि एवं प्रहरी कर्मचारीको मनोबल उच्च राख्दै दुई वर्षीय कार्ययोजना निर्माण गर्न लागिएको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्