जनकपुरधामलाई कुरूप बनाउने गरि राखिएको प्रचार सामाग्री हटाइँदै

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले अनुमतिविपरीत बिजुली पोल र विभिन्न स्थानमा लगाइएको प्रचार सामग्री हटाउने अभियानको शुरुवात गरेको छ ।
नगरप्रमुख मनोजकुमार साहको आदेशमा शहरलाई कुरूप बनाउने गरी राखिएका प्रचार सामग्री हटाउने कार्य आज देखि सुरु गरिएको हो । प्रचारप्रसारका लागि शहरका विभिन्न स्थानमा राखिएका होर्डिङ बोर्ड, साइन बोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेट, भित्ते लेखनलगायत शहरी दृश्य प्रदूषण हुने प्रचार सामग्री हटाउने काम सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
ऐतिहासिक तथा धार्मिक महत्त्वको जनकपुरधामलाई कुरूप बनाउने गरि बढी प्रचार सामाग्रीहरू भानुचोक, रामानन्द चोक, शिवचोक, जनकचोक, विद्यापति चोकमा पाइएकाले ती स्थानको विज्ञापन सामग्रीहरू हटाउने काम शुरु भएको छ । अधिकांश सामाग्रीहरू नगरपालिकाको अनुमति विना झुन्ड्याउने काम भएको छ ।
नगर प्रहरीले भित्तेलेखन, पोल, खम्बा र भित्तामा टाँसिएका पर्चा, पम्प्लेट, ब्यानरलगायत शहरलाई कुरूप बनाउने सबै सामग्री हटाइरहेको छ । नियमअनुसार सार्वजनिक स्थान, छिमेकीलाई असर पर्ने गरी, घरको छत र झ्याल ढोका छोपेर विज्ञापन राख्न पाइँदैन ।
यी नियमलाई आधार मान्ने हो भने जनकपुरधाम नगर क्षेत्रभित्र राखिएका अधिकांश प्रचार सामग्री नियम बाहिर देखिएको पाइएकाले हटाउनु पर्ने माग विभिन्न ठाउँबाट आइरहेका छ । शहरभित्र सबैभन्दा बढी विद्यालय तथा शैक्षिक संस्था र व्यक्तिगत रूपमा शुभकामनाका नाममा प्रचारप्रसारका बोर्डहरू राखेको सर्वत्र देखिएको छ ।
सार्वजनिक सडक (दोस्रो संशोधन) २०४६ ले सार्वजनिक सडकको आवागमनमा बाधा पुर्याउने माल वस्तु हटाउने अधिकार स्थानीय निकायलाई दिइएको छ ।
ऐनमा सडक विभाग तथा स्थानीय निकायको स्वीकृति प्राप्त नगरी कसैले सार्वजनिक सडकसँग जोडिने गरी वा सीमाभित्रको जग्गा आवादी गर्न वा त्यस्तै अन्य कुनै कार्य गर्न नहुने उल्लेख छ । प्रचार सामाग्री हटाउने अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरीले पनि नगर प्रहरीलाई सघाएका थिए ।







प्रतिक्रिया राख्नुहोस्