तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा १० महिनामा सवारी दुर्घटनाबाट ६२ जनाको मृत्यु , ४६० घाइते

चितवन । चालु आर्थिक बर्ष ०७९,०८०को १० महिनामा सवारी दुर्घटनाबाट चितवनमा ६२ जनाको मृत्यु भएको छ भने ४६० जना घाइते भएका छन्  । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका अनुसार चालु आव ०७९,८०को असार देखि वैशाखसम्म  २५३ वटा सवारी दुर्घटना भएका थिए । 

सबैभन्दा बढी मृत्यु भित्री सडकमा 

कार्यालयले दिएको तथ्याङ्क अनुसार सो अवधिमा भएका सवारी दुर्घटनामा भएका मृत्यु मध्ये सबैभन्दा बढी भित्री सडकमा भएको पाइएको छ । जसअनुसार १० महिनामा भित्री सडकबाट भएको दुर्घटनाबाट २७ जनाको मृत्यु भएको थियो । सो अवधिमा भित्री सडकमा सवारी दुर्घटनाबाट १८५ जना घाइते भएका थिए ।

तथ्याङ्क अनुसार पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटनाबाट १४ जनाको मृत्यु भएको थियो भने ९७ जना घाइते भएका थिए । यस्तै नारायणगढ मुग्लिन सडकमा भएको दुर्घटनामा १० जनाको मृत्यु, १०९ जना घाइते, पृथ्वीराजमार्ग भएका सवारी दुर्घटनाबाट ८ जनाको मृत्यु, ५० जना घाइते र सबैभन्दा कम शहरी सडकखण्डमा ३ जनाको मृत्यु र १३ जना घाइते भएका छन् । कार्यालयका अनुसार सो अवधिमा भित्रीसडकखण्डमा १२० वटा सवारीसाधन, पूर्वपश्चिम लोक मार्गमा ५७ वटा , पृथ्वीराजमार्गमा  १८ वटा , नारायणगढ मुग्लिनसडमा ४५ वटा र शहरीखण्डमा १३ वटा सवारी साधन दुर्घटना भएका थिए ।

कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार तामाङ्गले चितवनका भित्री सडकमा चालकले लापरवाही तरीकाले सवारीसाधन चलाउनाले तुलनात्मक रुपमा भित्री सडकमा दुर्घटना सँगै मानवीय क्षति भएको बताउनु भयो । ’चितवनका अहिले मुख्यसडकभन्दा  भित्री सडक खुल्ला, व्यवस्थित छ । जसले गर्दा चालकले तीव्र गतिमा सवारी चलाउंँछन , तामाङ्गले भन्नुभयो, अर्को कुरा भित्री सडकमा ट्राफिक प्रहरीको पहुंँचपनि कम छ ।’ भित्री सडकमा दुर्घटना बढेपछि पछिल्लो समय त्यस्ता सडकहरूमा ट्राफिक चेकिङ बढी गरिदैं लगिएको उहाँले बताउनु भयो । 

शहरीसडकमा चालक बढी सचेत भएको पाइएको र भित्री सडकमा लापरवाही र मापसे समेत गरेको पाइएकोले सवारी दुर्घटना बढेको उहाँको भनाई छ ।  गतबर्षभन्दा यो चालु आर्थिक वर्षमा दुर्घटनाको दर भने घटेको उहाँले बताउनु भयो । ‘चितवनमा लाइसेन्स वितरण भएपछि दुर्घटना पनि केही घटेको र चालक अलि बढी सचेत भएको पनि पाएका छौँ ।’ ट्राफिक प्रहरी प्रमुख तामाङ्गले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button