तपाईँ सुन्दै हुनुहुन्छः

अग्रगामी शक्तिले नै  विकल्प दिनुपर्छ : अध्यक्ष डा भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अग्रगामी प्रगतिशील शक्तिले समयानुकूल रूपान्तरित भएर विकल्प दिन सक्नुपर्ने बताउनुभएको छ । ५९औँ विद्यार्थी दिवसका अवसर पारेर आज यहाँ आयोजित कार्यक्रममा उहाँले वामपन्थी समाजवादी शक्तिले आफूलाई रूपान्तरण गरेमात्र जनताको अपेक्षा पूरा गर्न सकिने बताउनुभयो । 

“हामीले समाजवादी विकल्प दिन सक्यौँ भने जनताको आशा अपेक्षा पूरा गर्न सकिन्छ । हिजोकै गाथा गाइरह्यौँ, विगतकै जस्तो व्यवहार देखाउन थाल्यौँ र सत्तामा गएर भ्रष्टीकरण भयौँ र तिनको प्रतिरक्षामा लाग्यौँ भने आगामी दिनमा जनताले हामीलाई नकार्ने छन्”, उहाँले भन्नुभयो । 

वर्तमान अवस्थामा मुलुक अग्रगमन र पश्चगमनको बीचमा मडारिरहेको जनाउँदै उहाँले आगामी केही वर्ष धेरै गम्भीर हुने देखिएको आँकलन गर्नुभयो । मुलुकमा देखिएको बेथिति अन्त्य गर्न आफूहरूले राजनीतिक तवरमा छलफल गरिरहेका उहाँको भनाइ छ । 

“फेरि पनि हामीले आफूलाई रूपान्तरण गरेर अग्रगामी राजनीतिक विकल्प दिन्छौँ । युवा विद्यार्थीले पनि भ्रष्टाचार, बेथिति, बेरोजगारी, शिक्षा, स्वास्थ्यलगायतका मुद्दा उठाएर नेतृत्व गर्नुपर्छ”, उहाँले भन्नुभयो । संविधानमा स्वास्थ्य, शिक्षा, रोजगारीलगायत नागरिक अधिकारलाई मौलिक हकका रुपमा व्यवस्था गरिएको भए पनि अझै नागरिक मौलिक हक प्राप्त गर्नबाट वञ्चित भएको बताउनुभयो । 

“संविधानमा शिक्षा मौलिक अधिकारका रुपमा राखिएको छ, विविध कारणले सबैलाई शिक्षा दिन सकिएको छैन । गुणस्तरीय शिक्षा प्राप्त गर्न सकेको छैनन् । देशभित्रै सम्मानजनक रोजगारी प्राप्त गर्ने अवस्था अझै भएको छैन”, पूर्वप्रधानमन्त्री डा भट्टराईले भन्नुभयो, “ठूलो सङ्ख्या यो देशप्रति आफ्नो भविष्य देख्न छाडेर पलायन भइरहेको छ, रोजगारीका लागि मात्रै होइन, अध्ययनका लागि पनि लाइन लागिरहेको छ, यसका लागि विद्यार्थी सङ्गठनले घोत्लिएर सोच्नुपर्ने छ ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button