तपाईँ सुन्दै हुनुहुन्छः

कृषिविज्ञ राईलाई सात दिन हिरासतमा राख्न आदेश

खोटाङ । बालयौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका ‘शुभद्रा–मदन फाउन्डेसन’ (शुभम्) का संरक्षक एवं कृषिविज्ञ मदन राईलाई थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न प्रहरीलाई जिल्ला अदालत खोटाङले आदेश दिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित शुभम् फाउन्डेसनमा आवासीय रुपमा बसेर पढ्ने बालिका र किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा गत शुक्रबार फाउण्डेशनबाटै पक्राउ परेका संरक्षक राईमाथि अदालतले आइतबार सात दिनको म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको हो ।

पक्राउपछि प्रहरी हिरासतमा रहेका संरक्षक राईमाथि एक जना पीडितले बालयौन दुर्व्यवहारसम्बन्धी कसुरअन्तर्गत दिएको उजुरी समेत दर्ता गरेर कारबाहीको प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभयो ।

कुटो कोदालोदेखि कम्प्युटरसम्म पढाइ हुने भनिएको विद्यालयका संरक्षक राईले आफूहरूको संवेदनशील अङ्गमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अङ्गमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लिल हर्कत गर्ने लगायत आरोपसहित पीडित पक्षले मौखिक उजुरी दिएको प्रहरीले बताएको छ । संरक्षक राईलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान सुरु गरेपछि मौखिक उजुरी दिनेलाई किटानी जाहेरी दिन कार्यालयमा बोलाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो ।

शुभम् फाउण्डेशनका संस्थापक समेत रहनुभएका ७५ वर्षीय राईले विगत केही वर्षदेखि सामाजिक सञ्जालमा अश्लिल शब्द प्रयोग गरेर स्ट्याटस लेख्दै आउनुभएको थियो । यौन शिक्षाको नाममा सामाजिक सञ्जालमा अश्लिल शब्द प्रयोग गरेको विषयमा संरक्षक राईको चौतर्फी आलोचना हुँदै आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button