तपाईँ सुन्दै हुनुहुन्छः

कँडेलले न्याय पाउनुहुन्छ : मन्त्री गुरुङ

चितवन । स्व शङ्कर कँडेलले न्याय पाउने नेपाली कांग्रेसका नेताहरूले बताउनुभएको छ । नेपाली कांग्रेस चितवन क्षेत्र नं ३ ले आज भरतपुर महानगरपालिका–८ स्थित कँडेल निवासमा आयोजना गरेको शोक सभामा बोल्दै कांग्रेसका नेताहरूले यस्तो बताउनुभएको हो ।

सभामा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले स्व कँडेललाई अन्याय हुन नदिने बताउनुभयो । उहाँले भन्नुभयो, “परिवारले दिएको किटानी जाहेरीमा रहेका दोषीले उन्मुक्ति पाउने छैनन् ।” किटानीमा उल्लेख भएकाले उन्मुक्ति पाउने गरी छानबिन नहुने उहाँको भनाइ थियो । नेपाली कांग्रेसका उपसभापति समेत रहनुभएका मन्त्री गुरुङले अहिलेको अवस्थामा उत्तेजना र भावनामा बगेर नभई गम्भीर भएर छानबिन गरिने बताउनुभयो ।

कँडेलको निधनले चितवनवासीलाई मात्रै नभएर सिङ्गो काँग्रेसलाई क्षति भएको उहाँको भनाइ थियो । उहाँको निधनले सिङ्गो व्यावसायिक क्षेत्र समेत मर्माहत बनेको भन्दै मन्त्री गुरुङले परिवारको साथमा कांग्रेस रहेको बताउनुभयो ।

सभामा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कँडेलको निधनको विषयमा उठेका कुराहरूमा कानुनसम्मत छानबिन हुने बताउनुभयो । उठेको विषय कानुनसम्मत तवरले छिनोफानो नहुँदासम्म नेपाली काँग्रेस सँगै उभिने बताउनुभयो । किटानी जाहेरीमा परेका व्यक्तिहरूलाई पक्राउ गर्न सरकारलाई काँग्रेसले दबाब दिइरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य उमा रेग्मी, नेकपा (माओवादी केन्द्र) की पोलिटब्यूरो सदस्य रेनु दाहाल, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, नेपाली कांग्रेस चितवन क्षेत्र नं ३ का क्षेत्रीय सभापति लालबहादुर दवाडी र स्व कँडेलका भाइ युवराज कँडेल लगायतले बोल्नुभएको थियो ।

व्यवसायी एवं नेपाली कांग्रेसका महासमिति सदस्य कँडेलले यही वैशाख १९ गते आफ्नै कार्यालयमा देहत्याग गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button