बुटवलमा नक्कली मह बनाउने सात भारतीय पक्राउ, आधा दर्जन फरार, बरामद गरिएको मह नष्ट

रुपन्देही । बुटवलमा नक्कली मह बनाउने कारखाना नियन्त्रण गरी उक्त कारखानामा कार्यरत ७ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
बुटवल उपमहानगरपालिका वडा नं ११ सृजनानगरमा ४ वटा घर भाडामा लिएर उनीहरूले नक्कली महको कारखाना खोलेका थिए ।
सोही वडाका वडा सदस्य नकुल शाहीका अनुसार ती व्यापारीले नेपाली ग्राहकमाथि गम्भीर खेलबाड गर्दै नक्कली मह कारखाना खोलेर सञ्चालन गरेको गोप्य सूचनाका आधारमा शनिबार राती ४ घण्टा प्रहरी र स्थानीयको पहलमा गस्ती गरेर पक्राउ गर्न सफल भएको हो।
“हामीले यसरी उपभोक्तामाथि गम्भीर खेलबाड गर्दै नक्कली मह उत्पादन गर्ने कारखाना खोलेको सूचना पाएका थियौँ, तर उनीहरूले गोप्य रुपमा सामान ल्याउने र तयारी गरेर प्याकिङ गरेर बेच्न लैजाने गरिरहेका थिए, शनिबार राती देवीनगर प्रहरी चौकीका प्रमुख लक्ष्मण न्यौपानेको कमाण्डमा मसहित स्थानीयले ४ घण्टा गस्ती गरेर उनीहरूले प्रयोग गरेका ४ वटा घरबाट सबै सामानसहित पक्राउ गर्न सफल भइयो”, वडा सदस्य शाहीले भन्नुभयो ।
पक्राउ परेका व्यापारीलाई राती १ बजे वडा प्रहरी कार्यालय रामनगर लगेर छाडिएको छ । सिर्जनानगरका ७ वटा घरमा सञ्चालन गरिएको यस्तो कारखानाबाट नक्कली मह बरामद गरिएको हो ।

बुटवलका अन्य ठाउँमा पनि यसरी नै नक्कली मह तयार पारी विक्री गरिएको हुनसक्ने आशङ्का गर्दै वडा सदस्य शाहीले थप अनुसन्धान र कारबाहीका लागि प्रहरी प्रशासनलाई आग्रह गर्नुभयो ।उनीहरूले मौरीका सडेगलेका चाकालाई चिनीपानीमा भिजाएर सक्कली मह भन्दै बजारमा बेच्ने गरेको शाहीले बताउनुभयो । “सडेका मौरीका किरा तथा चाकामा चिनी घोलेर रुपन्देही तथा जिल्ला बाहिरसमेत बजारमा पुर्याएर प्रतिकिलो १६ सय रुपैयाँमा बिक्री गर्ने गरेको भेटियो ।”, शाहीले भन्नुभयो ।
बरामद गरिएको केही मह बुटवल–११ सिर्जना नगरमै नष्ट गरिएको छ भने केही मह वडा प्रहरी कार्यालय रामनगरमा लगिएको छ ।
पक्राउ पर्नेमा भारतको विहार विरपुरका ५२ वर्षीय मनिस धामी, सोही ठाउँका ५५ वर्षीय इन्द्रजित धामी, २१ वर्षीय पिन्टु धामी, ३१ वर्षीय सुधिर धामी, २० वर्षका रविन धामी, ४८ वर्षका अरुण धामी र २८ वर्षका वुदुवा धामी रहेको वडा प्रहरी कार्यालय रामनगरले बताएको छ ।
टोलीले गस्तीका क्रममा अवैध रुपमा नक्कली मह उत्पादन गरी विक्री गर्ने गरेको भेटेपछि खानतलासी गर्ने क्रममा ४ क्विन्टल बढी नक्कली मह फेला परेको थियो ।
आइतबार बिहान पुनः खानतलासी गर्ने क्रममा बुटवल–११ सिर्जना नगरस्थित वृन्दा मल्लाहको घरबाट २ बाल्टी तयार पारिएको नक्कली मह, ४ टिन मौरीको चाका बरामद भएको छ भने सोही ठाउँका आरती मल्लाहको घरबाट ७ बाल्टी तथा वीरबहादुर कनौजे मगरको घरबाट ५ बाल्टी तयार पारिएको मह बरामद भएको हो । उनीहरूको घरमा भारतीय नागरिकहरू भाडामा बसेर मह उत्पादन गर्दै आएका थिए । प्रहरीले खानतलासी गर्ने सूचना पाएपछि शनिबार राती नै घरमा ताला लगाएर नक्कली मह बनाउने भारतीय नागरिकहरू फरार रहेको देविनगर प्रहरी चौकीका प्रमुख लक्ष्मण न्यौपानेले जानकारी दिनुभयो।
वडा प्रहरी कार्यालय रामनगरका प्रमुख अर्जुन पौडेलले पक्राउ परेकाहरूलाई थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइने र बरामद गरिएको मह परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवामा नमूना पठाइएको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्