तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचार नियन्त्रणमा शिक्षकको अहम् भूमिका : मन्त्री गुरुङ

चितवन । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले देशमा व्याप्त भ्रष्टाचार नियन्त्रणका लागि शिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

नेपाल शिक्षक सङ्घको ३४ औँ स्थापना दिवसका अवसरमा आयोजित नवप्रवेशी शिक्षक स्वागत तथा सम्मान कार्यक्रममा उहाँले शिक्षकले दिने शिक्षा र आचरणबाट भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह हुने बताउनुभयो ।

शिक्षकले दिने शिक्षाले भ्रष्टाचार नियन्त्रणसँगै समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने मन्त्री गुरुङको भनाइ थियो । अहिलेका शिक्षक भविष्यका देश चलाउने व्यक्ति भएको भन्दै उहाँले सानैदेखि असल शिक्षा दिन जरुरी रहेको बताउनुभयो । शिक्षकबाट पाउने ज्ञानलाई बालबालिकाले पछि भविष्यमा उतार्ने भन्दै सच्चा नागरिक बन्न सिकाउनुपर्ने उहाँको भनाइ छ ।

देशमा पछिल्लो समय गाँजिएको भ्रष्टाचारको जालो तोड्न सरकार लागिपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार आफ्नो काममा दृढ छ । जनताको पक्षमा काम गर्न सरकार बनेको हो ।” सरकारलाई नेताको घरको रुवाबासीभन्दा जनताको घरको रुवाबासीले पिरोल्ने गरेको उहाँको भनाइ छ ।

पछिल्लो समय कांग्रेसका नेताहरू समेत भ्रष्टाचार मुद्दामा मुछिएको भन्दै मन्त्री गुरुङले जो–कोही भए पनि नछाड्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले काँग्रेसभित्रको आन्तरिक समस्या समाधानका लागि छलफल भइरहेको बताउनुभयो । केन्द्रमा देखिने समस्याले जिल्लामा समेत प्रभाव पारेको बताउँदै उहाँले यस्ता समस्या समाधानका लागि पदाधिकारी तहबाटै पहलकदमी हुन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, बागमती प्रदेशसभा सदस्य उत्तम जोशी, नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय उपाध्यक्ष इन्दिरा सापकोटा, नेपाल शिक्षक सङ्घ सङ्घीय उपमहासचिव प्रेमप्रसाद पौडेल, नेपाल शिक्षक सङ्घका पूर्व अध्यक्ष ध्रुवराज पोख्रेल, नेपाल शिक्षक महासङ्घ चितवनका अध्यक्ष कोमलनाथ घिमिरे, नेपाली कांग्रेसका नेता प्रकाश अधिकारी, भरतपुर महानगरपालिकाका–१० का अध्यक्ष परमेश्वर खनाल लगायतले शिक्षा क्षेत्रको विकासमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button