तपाईँ सुन्दै हुनुहुन्छः

दशरथचन्द नगरपालिका द्वारा श्रम स्वीकृति दिन सुरु 

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई श्रम स्वीकृति दिने कार्य सुरु गरेको छ । यसअघि श्रम मन्त्रालयबाट मात्रै दिइने गरेको श्रम स्वीकृति पछिल्लो समय सुदूरपश्चिमका लागि धनगढीबाट दिइने गरेको थियो ।

तर गत २०७९ चैत १६ गते नेपाल सरकारले यही वैशाख १ देखी लागु हुनेगरी स्थानीय तहको रोजगार शाखा मार्फत श्रम स्वीकृति दिने गरि निर्णय गरेको थियो । 

उक्त निर्णयका आधारमा दशरथचन्द नगरपालिकाले आज पहिलो पटक कतार जान इच्छुक दशरथचन्द नगरपालिका–६का कोमल राम महरलाई श्रम स्वीकृति प्रदान गरिएको नगरपालिकाका सूचना अधिकारी राजेन्द्र विष्टले बताउनुभयो । 

उहाँलाई नगरप्रमुख पुस्कर राज जोशीले श्रम स्वीकृति हस्तान्तरण गर्नुभएको हो ।

नगरपालिकामै श्रम स्वीकृति पाएपछि निकै सहजता महसुस गरेको वैदेशिक रोजगारीमा जान लागेका महरले बताउनुभयो । उहाँले यसअघि श्रम स्वीकृति लिनका लागि कम्तीमा एक हप्ता लाग्ने र १०–१५ हजार रकम समेत खर्च हुनेमा अहिले सजिलै प्राप्त गरेको बताउनुभयो । 

वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन स्थानीय तहबाट श्रम स्वीकृति दिइनु महत्त्वपूर्ण पक्ष रहेको नगर प्रमुख जोशीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button