नक्कली भुटानी शरणार्थी बनाउने गिरोहका कोही पनि उम्कनु हुन्न : अध्यक्ष यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकताको समस्या समाधानका लागि दुई पटक प्रतिनिधि सभाबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पुगेको विधेयक प्रमाणीकरण हुनु पर्ने धारणा राख्नु भएको छ ।
जसपाका अध्यक्ष यादवले आज जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै सार्वभौम सांसदले पारित गरेको विधेयक अर्को राष्ट्रपतिको कार्यकालमा प्रमाणीकरण भएको उदाहरण विश्वमा भएको बताउँदै नागरिकताको समस्या समाधानका लागि विधेयक प्रमाणीकरण हुनु पर्ने धारणा राख्नु भयो ।
उहाँले नक्कली भुटानी शरणार्थी सम्बन्धि भ्रष्टाचारको छानबिनको स्वागत गर्दै यसमा भएका दोषीहरू उम्किन नहुने बताउनु भयो । जसपाका अध्यक्ष नक्कली भुटानी बनाएर नेपालीलाई अमेरिका पठाउने विषयको छानबिनमा अमेरिका सहित विश्व समुदायको चासोको भएकाले कुनै पनि दोषी उम्कन नहुने बताउनु भयो ।
उहाँले कोशी प्रदेशको विषयमा भइरहेको आन्दोलनको शीघ्र सम्बोधन हुनु पर्ने धारणा राख्दै आन्दोलनलाई बेवास्ता गरेको खण्डमा उग्र रूप लिने परिस्थिति आउने सम्भावना रहेको बताउनु भयो ।
जसपाका अध्यक्ष यादवले मधेश प्रदेश सरकारको पुनर्गठन चाडै हुने बताउँदै सरकारमा संघीय सरकारमा रहेका पाँच दलहरू सामेल हुने बताउनु भयो ।
एक प्रश्नको जवाफमा जसपाका अध्यक्ष यादवले मधेश सरकारबाट जनमत पार्टीलाई हटाउने नहटाउने विषयमा बिचार विमर्श भइरहेको र यसको जिम्मा प्रधानमन्त्री प्रचण्डलाई दिएको बताउनु भयो ।
उहाँले केन्द्रमा रहेको पाँचदलीय गठबन्धनको सरकारको संयुक्त रुपमा मधेश सरकार अघि बढ्ने बताउँदै मधेश सरकारको मन्त्रीमण्डल चाडै नै पुनर्गठन हुने पनि बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्