तपाईँ सुन्दै हुनुहुन्छः

गुरुको चितामा चेलाले गरे आत्मदाह 

लहान । एक शिष्यले गुरुसँगै प्राण त्यागेको घटना सार्वजनिक भएको छ । सिरहाको बरियारपट्टी गाउँपालिकाको गरगम्मा र भारत विहार राज्यको मधुवनी जिल्लामा पर्ने लक्ष्मीनियाँ गाउँको बीचमा पर्ने नेपाल–भारत सीमा क्षेत्रमा यो घटना घटेको हो ।  

धनुषाको सबैला नगरपालिका–९ कोल्हुवामोड घर भई लामो समयदेखि सिरहाको सुखीपुर नगरपालिका–२ को छजना टोल स्थित हनुमान मन्दिरमा बस्दै आइरहेको  १ सय २२ वर्षीय साधु विष्णु दासको गत सोमबार निधन भयो । 

साधुको दाहसंस्कार भइरहँदा त्यही चितामा हाम फालेर भारतीय गाउँ लक्ष्मीनियाँकै ५५ वर्षीय रामचन्द्र महतोले  आत्मदाह गरेका हुन् । स्थानीयका अनुसार महतो साधु दासको चेला हुन् । उनी लामो समयदेखि साधुसँगै बस्दै आएका थिए । मलामीहरू उनको खुट्टा तानेर बचाउने प्रयास गरे । तर दनदनी बलेको आगोबाट महतोलाई तान्न सकेनन् । उनी पनि बाबाकै चितामा जलेका थिए ।’

यसबारे भने नेपाल प्रहरी अनभिज्ञ छन् । निधन भएका साधुको दाहसंस्कार भारतीय भूमिमा गरिएकोले शिष्यले चितामै आत्मदाह गरेको घटनाको रेकर्ड नराखिएको सिरहाका प्रहरी बताउँछन् । गुरुकै चितामा शिष्यले पनि प्राण त्यागेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button