तपाईँ सुन्दै हुनुहुन्छः

कृषि क्षेत्रमा पर्याप्त मात्रामा लगानी हुन सकेन : मन्त्री भुसाल

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसालले कृषि क्षेत्रमा पर्याप्त मात्रामा लगानी हुन नसकेको बताउनुभएको छ ।

दिगो विकास तथा सुशासन समितिद्वारा आज आयोजित कार्यक्रममा मन्त्री भुसालले मुलुकको अर्थतन्त्रको मुख्य माध्यमका रूपमा रहेको कृषि क्षेत्रमा कुल बजेटको तीन प्रतिशतभन्दा बढी बजेट विनियोजन हुन नसकेको जनाउँदै यान्त्रीकरणसँगै प्रवर्द्धन गर्न पहल गर्नुपर्ने बताउनुभयो ।

पाँच लाख मेट्रिक टन रासायनिक मलको आवश्यकतालाई अन्तर्राष्ट्रिय बजारमा समयसापेक्ष मूल्य परिवर्तन हुनाले रकमका आधारमा नभई परिमाणको आधारमा समयमै बजेट सुनिश्चित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कृषि सचिव डा गोविन्दप्रसाद शर्माले अघिल्लो वर्षमा समयमै बजेट विनियोजन नहुनु मुख्य समस्या रहेता पनि यस वर्ष बजेट सुनिश्चित रहेको बताउनुभयो । जिल्ला स्तरमा बीउ उत्पादन कार्यक्रमले जिल्लाको माग धान्न सक्ने रहेको अवस्थामा पछिल्लो पाँच वर्षयता बीउबिजन उपलब्धताको अवस्था खस्किँदै गएकाले यसको प्रवर्द्धन गर्न जरुरी रहेको सचिव शर्माले बताउनुभयो ।

कार्यक्रममा सांसद वामदेव गौतमले कृषि क्षेत्रको जिम्मेवारी स्थानीय सरकारलाई दिनुपर्ने बताउनुभयो । “ग्रामीण क्षेत्रमा नागरिकलाई आकर्षण गर्ने मुख्य उपाय त्यहाँको कृषि क्षेत्रमा लगानी गरी कृषकलाई अनुकूल वातावरण सिर्जना गर्नु हो । डिजिटल प्रणालीमार्फत यस क्षेत्रलाई प्रवर्द्धन गरेमा मुलुकभित्रका जनशक्ति पलायन हुने समस्या आउँदैन ।”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button