तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय ट्राभल मार्ट सुरु

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणको निम्तोसहित लुम्बिनीमा आजदेखि दोस्रो अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२३ सुरु भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना, नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल (नाट्टा)को संयोजनमा लुम्बिनीमा तीन दिने मार्ट सुरु भएको हो ।

लुम्बिनीस्थित मायादेवी मन्दिरमा आज बिहान दीप प्रज्ज्वलन र ध्यान गरेपछि शुभारम्भ भएको मार्टको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेशकुमार त्रिपाठी)ले उद्घाटन गर्नुभयो । त्यस अवसरमा उपाध्यक्ष भिक्षु मैत्तयले बुद्धले महापरिनिर्वाण हुनुअघि जीवनमा एकपटक भए पनि बुद्ध जन्मस्थल लुम्बिनी पुग्दा पुण्य प्राप्त हुने शिक्षा दिएको प्रसङ्ग उल्लेख गर्दै विश्वभरका बौद्ध मार्गीहरूले लुम्बिनीबाटै यात्रा थालनी गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले कोभिडका कारण सुस्ताएको पर्यटन क्षेत्रलाई बुद्ध जन्मस्थल लुम्बिनीबाट चलायमान बनाउन बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्टको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव धनबहादुर वली, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा धनञ्जय रेग्मी, होटल एशोसिएशन नेपाल (हान)का अध्यक्ष विनय शाहलगायतले लुम्बिनीसहित नेपालका पर्यटकीयस्थल भ्रमणका लागि निम्तो दिनुभयो ।

पर्यटन मन्त्रालयका सचिव अधिकारीको अध्यक्षतामा बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट मूल आयोजक समिति गठन गरी कार्यक्रम गरिएको हो । मार्टमा नेपालसहित भारत, मलेसिया, चीन, कोरिया, बङ्गलादेश, म्यानमार, थाइल्याण्ड, श्रीलङ्का लगायत देशबाट २८ वटा ट्राभल÷टुर कम्पनी सहभागी भएका छन् ।

मार्टमा विदेशी ट्राभल/टुर कम्पनी, नेपाल सरकार, नेपाल पर्यटन बोर्डका अधिकारी, नाट्टाका सदस्य, पर्यटन सम्बद्ध सङ्घसंस्थाका अध्यक्ष एवं प्रतिनिधिको सहभागिता छ । शनिबारसम्म सञ्चालन हुने मार्टमा स्वदेशी तथा विदेशी विज्ञद्वारा कार्यपत्र प्रस्तुतिसहितको सेमिनारको आयोजना गरिएको नाट्टाका अध्यक्ष रमेश थापाले जानकारी दिनुभयो । ट्राभल कम्पनीलाई लुम्बिनीलाई केन्द्रमा राखेर ‘टुर प्याकेज’ निर्माणका लागि समेत सुझाव दिइएको छ । ट्राभल मार्टमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि वातावरण निर्माण गर्ने विषयमा सरकारी अधिकारीहरूले प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button