एकदिने गणित प्रदर्शनी मेलाको आयोजना हुने

काठमाडौँ । गुहेश्वरी बोर्डिङ स्कुलले एकदिने गणित प्रदर्शनी मेलाको आयोजना गर्ने भएको छ ।
बाँसबारीस्थित विद्यालय परिसरमा यही वैशाख २९ गते एकदिने गणित प्रदर्शनी मेलाको आयोजना गर्न लागिएको स्कुलका निर्देशक डिआर लामिछानेले जानकारी दिनुभयो । गणित प्रदर्शनी मेलामा विद्यालयका १५० जना विद्यार्थीहरूले ९० वटा परिक्षण प्रदर्शन गर्ने लामिछानेले बताउनुभयो ।
अहिले विद्यार्थीहरूलाई गणित विषय अप्ठ्यारो हुने गरेकोले यो प्रदर्शनी मार्फत विद्यार्थीहरूले धेरै कुराहरू सिक्न सक्ने निर्देशक लामिछानेले बताउनुभयो । मेलामा गणितीय समस्याहरूलाई विभिन्न सूत्रहरू प्रयोग गरेर समाधान गरेर देखाइने छ ।

गणित प्रदर्शनी मेलाले विद्यार्थीहरूको गणितीय सिप र सिर्जनाको विकास गर्ने र गणितलाई सजिलो बनाउन सहयोग गर्ने समेत निर्देशक लामिछानेले बताउनुभयो ।
मेलामा विद्यार्थीहरूले गणितीय खेलहरू, पज्जल, क्विजलगायतका बारेमा आफ्नो प्रदर्शनी समेत प्रस्तुत गर्नेछन् । साथै स्कुलले अन्य विद्यालयहरूलाई एक्स्पोमा सहभागीताका लागि समेत आव्हान गरेको छ । मेलामा ६०/६५ विद्यालयले सहभागिता जनाउने निर्देशक लामिछानेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्