ट्राफिक सप्ताह-२०८० सम्पन्न

पोखरा । दुर्घटना न्यूनीकरणका लागि ‘‘ट्राफिक नियमको पालना गरौँ, सवारी दुर्घटना हुनबाट आफु पनि बचौँ र अरूलाई पनि बचाऔँ‘ भन्ने नाराका साथ गण्डकी प्रदेश प्रहरी कार्यालय र प्रहरी पोष्ट पावर हाउस पोखरा–३० ले सडक सुरक्षा सचेतना ट्राफिक सप्ताह –२०८० सम्पन्न गरेको छ ।
गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय, पोखरा महानगरपालिका कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक कार्यालयको व्यवस्थापनमा सप्ताह व्यापी कार्यक्रम सम्पन्न गरेको हो ।
पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रका वडा नंं ३०, ३२, २७, २९ र ३३ का साथै कास्की जिल्ला रुपा गाउँपालिकाका विभिन्न वडामा सडक सभ्यता तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले, ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रममा स्थानीय समाज सेवी, बुद्धिजीवी, सवारी चालक, परिचालक, तथा सवारी धनी र स्थानीयहरूको उपस्थितिमा सम्पन्न गरिएको थियो ।

कार्यक्रममा सवारी चलाउनु पूर्व सवारीको यान्त्रिक अवस्था चेकजाँच, लेन अनुशासनको पालना गरौँ । सवारी साधनको सिट क्षमता भन्दा बढी यात्री नराखौँ। हेलमेटको फित्ता तथा सिट बेल्ट राम्रो सँग बाँधौँ, सवारी चलाउँदा मोबाइल फोनको प्रयोग नगरौँ हतार, मानसिक तनाव, थकान, चिन्ता र अत्यन्त खुशीमा सवारी नचलाऔँ, मादकपदार्थ तथा नशालु पदार्थ सेवन गरी सवारी साधन नचलाऔँ भन्ने नारा, वानर र प्लेकार्ड सहित राजमार्ग र शहरका विभिन्न भागमा सचेतनामूलक ट्राफिक सप्ताह सम्पन्न गरेको हो ।
यातायात हाम्रो जीवन सञ्चालनको आधार नै बनिसकेकोले अब आगामी दिनमा यो पेसालाई अझै मर्यादित, प्रतिस्पर्धी र व्यावसायिक बनाउन र सर्वसाधारणलाई ट्राफिक नियमको सचेतनाका बारेमा निरन्तरता दिइनु पर्ने धारणा अस्थायी ट्राफिक प्रहरी पोष्ट पावर हाउसका प्रहरी नायव निरीक्षक बद्रीनाथ शर्माले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्