तपाईँ सुन्दै हुनुहुन्छः

तिला ६ का तीन गाउँ बालविवाहमुक्त घोषणा

जुम्ला । जुम्लाको तिला गाउँपालिका वडा नंं. ६ स्थित दुर्गम तीन वटा गाउँलाई बालविवाह मुक्त घोषणा गरिएको छ । तिला ६ मा पर्ने घोडेमहादेव, रिपी र सुडिगाउँलाई मङ्गलवार जुम्लाको दोस्रो वडाका रुपमा बालविवाह मुक्त घोषणा गरिएको हो । 

गरिबी, देखासिकी, प्रविधिको दुरुपयोगले बढ्दो बालविवाह पछिल्लो समय सरकारी तथा गैरसरकारी निकायको साँझा अभियानले शून्यमा पुगेपछि तिला गाउँपालिका वडा नंं ६ लाई जिल्लाकै दोस्रो वडाका रुपमा बालविवाह मुक्त घोषणा छ । 

तिला ६ मा पर्ने घोडेमहादेव गाउँमा ६८, रिपी गाउँमा ३५ घरधुरी र सुडी गाउँमा ११० घरधुरी जम्मा २ सय १३ घरधुरीका २० वर्ष मुनिका कुनै पनि बालविवाहले बालविवाह नगरेको, पटक पटक अनुगमन गरेको लगायतका विभिन्न कार्यक्रम पश्चात् बालविवाह मुक्त घोषण गरिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताउनुभयो । 

घोषणासँगै कार्यान्वयनमा चुनौती रहेकोले पालिकालाई नै बालविवाह मुक्त बनाउने अभियानका साथ पालिकाभर कार्यक्रम सञ्चालन गरिने अध्यक्ष रोकायाको भनाई छ । तिलाकी उपाध्यक्ष गोरीकला बुढाले चेतनाको अभाव, गरिबीले बढ्दो बालविवाह रोक्न उद्यमशीलताका कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो । 

उहाँका अनुसार आगामी नीति तथा कार्यक्रममा उत्पादन वृद्धि, सामाजिक रूपान्तरण तथा युवा उद्यमशीलताका क्षेत्रमा लगानी बढाई कुरीति अन्त्यको अभियान चलाइने छ । भौगोलिक रुपमा विकट घोडे,रिपी र सुडिका नागरिकले बालविवाह अपराध मात्र हैन शिक्षा, स्वास्थ्य रोजगारका अवसरबाट वञ्चित हुने बाधक हो भन्ने बुझी सकेका छन् । 

जसका कारण बालविवाह मुक्त वडा घोषणा गर्न सफल भएको तिला ६ का वडाध्यक्ष जङ्ग बहादुर रोकायाले बताउनुभयो । उहाँका अनुसार आगामी दिनमा बालविवाह गर्नेलाई कानुनी कारबाही गर्नुका साथै पालिकाबाट दिइने सबै सार्वजनिक सेवाबाट समेत बञ्चित गराइने छ । 

किर्डाक नेपाल र गाउँपालिकाले वडा नं. ६ का गाउँगाउँमा पुगेर बालविवाहले मानव स्वास्थ्यमा पार्ने असर, ढिलो बिहे गर्दा हुने फाइदा र कानुनी दण्ड सजायबारे अन्तरक्रिया, छलफल, घरधुरी सर्वेक्षण लगायतका ५१ सूचक पुरा गरेपछि बालविवाह मुक्त घोषणा भएको हो ।  

तिला गाउँपालिकाका स्थानीय नागरिक जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल लगायतका सरोकारवालाले बालविवाह नगर्ने र गर्न पनि पनि नदिने भन्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button