मधेश प्रदेशमा माघ २३ वाट सुत्केरी भत्ता वितरणमा रोक
जनकपुरधाम । मानव सूचकाङ्कमा पछाडि रहेको मधेश प्रदेशका सरकारी अस्पतालमा सुत्केरी महिलालाई प्रदान गर्दै आएको प्रोत्साहन भत्ता गत माघ २३ गतेबाट रोकिएको छ ।
सुरक्षित मातृत्वका लागि प्रोत्साहन भत्ता भनेर सरकारी अस्पतालमा सुत्केरी भएका महिलाले १ हजार पाउने गरेको प्रोत्साहन रकम नपाएपछि गरिब तथा विपन्न वर्गका महिलाहरू दुःखी भएका छन् । सर्लाहीको सलेमपुरवाट सुत्केरी सेवा लिएका विनिता साहले आफूले सुत्केरी भत्ता नपाएको बताउनु भयो ।
केन्द्रले प्रदेश सरकारलाई सशर्त अनुदान अन्तर्गत सुत्केरीलाई प्रोत्साहन भत्ताका लागि प्रदेश सरकारलाई एकमुक्त रुपमा प्रदान गरेपनि प्रदेश सरकारको अर्थ मन्त्रालयले सो बजेट रोक्का गरेपछि महिलाले पाउन नसकेको विभिन्न अस्पतालमा सुत्केरी सेवा लिएका महिलाहरूले जानकारी दिनु भएको छ ।
सरकारले मातृ तथा शिशु मृत्यु दर कम गर्नका लागि सुत्केरी महिलाले गर्भ परीक्षण गर्न आउँदा एक पटकमा २ सयका दरले चार पटकमा ८ सय र सुत्केरी भएपछि १ हजार गरेर १ हजार ८ सय प्रोत्साहन स्वरूप पाउने गरेकोमा पाउन सकेको छैन ।
मधेश प्रदेशका ८ जिल्लामा रहेको प्रादेशिक अस्पतालहरूमा सुत्केरी सेवा लिएबापत सुत्केरी महिलालाई प्रोत्साहन भत्ता दिने गरेको छ । जति जनाले सरकारी अस्पतालमा सुत्केरी सेवा लिन्छ सबैले सो भत्ता पाउने प्रावधान रहेको छ ।
गर्भ परीक्षणका लागि स्वास्थ्य संस्थाले गर्भवती महिलाको नाउँमा कार्ड नै बनाई दिने गरेको छ । महोत्तरीमा यो सेवा प्रभावकारी भएपनि धनुषामा प्रभावकारी भएको पाइँदैन । धनुषामा गर्भवती महिलाहरूले सोझै गर्भ परीक्षण गराउने गरेको छ । संघ सरकारले एकमुष्ट रुपमा बजेट प्रदान गरेपनि प्रदेश सरकारले सो रकम रोक्का गरेकाले समस्या उत्पन्न भएको विभिन्न अस्पतालहरूले जानकारी दिएको छ ।
प्रादेशिक अस्पताल जनकपुरधाममा भारी सङ्ख्यामा प्रसूति हुने गरेको भएपनि एक जना सुत्केरी महिलाले प्रोत्साहन भत्ता पाउन सकेको छैन । मधेश प्रदेशमा अहिले पनि अन्य प्रदेशको तुलनामा मातृ तथा शिशु मृत्यु दर अधिक रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्