नेपालको विकासमा जापान एक प्रमुख सहयोगदाता : शिक्षामन्त्री राई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले नेपालको विकास प्रयासमा जापान एउटा प्रमुख सहयोग दाताको रुपमा रहेको उल्लेख गर्दै हरेक समयमा नेपालमा हुने जापानी सहयोगका लागि जापान सरकार र जापानी जनताप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।
२०७२ वैशाखमा गएको भूकम्प पछि जापान सरकारले नेपालमा विद्यालयहरूको पुनर्निर्माणका लागि गठन गरेको आपत्कालीन विद्यालय पुनर्निर्माण परियोजनाको समापन समारोहमा बोल्नुहुँदै शिक्षामन्त्री राईले जापान सरकारको सहयोगमा पुनर्निमित्त विद्यालय भवनहरू दुई देश बीचको मित्रताको स्मारकका रुपमा रहने बताउनुभयो ।

नेपाल प्राकृतिक प्रकोपको चपेटामा छट्पटिरहेको बेला धेरै मित्र राष्ट्रहरूबाट सहयोग प्राप्त भएको र त्यसमा जापान एउटा प्रमुख सहयोग दाताको रुपमा रहेको पनि शिक्षामन्त्री राईले सो अवसरमा स्मरण गर्नुभयो ।
कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले नेपालको मानवीय तथा भौतिक विकासमा जापान सरकारले विगत देखिनै पुर्याउँदै आएको सहयोग नेपाली जनताका बीच सधैँ स्मरणीय रहने बताउनुभयो ।
कार्यक्रममा नेपालका लागि जापानी राजदूत किकुता युताकाले नेपालको दुःखसुखमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि जापान सरकार र जापानी जनता नेपालीको साथमा रहने बताउनुभयो ।

सो अवसरमा आपत्कालीन विद्यालय पुनर्निर्माण परियोजनाका परियोजना निर्देशक डिल्लिराम लुइँटेलले जाईकाको सहयोगमा पुनर्निर्माण गरिएका दुई सय ७४ विद्यालयबाट एक लाख भन्दा बढी विद्यार्थी र ५ हजार भन्दा बढी शिक्षक शिक्षिका लाभान्वित भएको बताउनुभयो ।
नेपाल पुनर्निर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प २०७२ ले पूर्वाधार निर्माण गर्दा गुणस्तर र प्रविधिमा ध्यान दिनुपर्छ भन्ने सबैमा ज्ञान प्रदान गरेको बताउनुभयो ।

जापान सरकारको सहयोगमा सञ्चालन भएको आपत्कालीन विद्यालय पुनर्निर्माण परियोजनाबाट देशका ६ जिल्लाका २ सय ७४ विद्यालयका ७ सय ६० सुविधा सम्पन्न भवनहरू पुनर्निर्माण सम्पन्न गरिएको जाईका नेपालका प्रमुख प्रतिनिधि ओकुबो आकिमित्सुले जानकारी दिनुभयो ।
ती विद्यालयहरूको पुनर्निर्माणमा १५ अर्ब भन्दा बढी नेपाली रुपैयाँ खर्च भएको हो ।
नेपालको ललितपुर गोर्खा, धादिङ, नुवाकोट, रसुवा र मकवानपुरमा पुनर्निमित्त विद्यालय भवनहरू भूकम्प प्रतिरोधी हुनुका साथै अपाङ्ग तथा बालमैत्री र खेलमैदान सभाहल सहितको निर्माण गरिएका जाईका नेपालले जनाएको छ । ‘










प्रतिक्रिया राख्नुहोस्