नक्कली भुटानी शरणार्थी प्रकरणबारे सदनलाई जानकारी गराउन माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म भएका प्रक्रियाका विषयमा संसद्लाई जानकारी गराउन सरकारसँग माग गर्नु भएको छ ।
प्रतिनिधि सभाको आजको बैठकको सुरुमा आकस्मिक समयमा अध्यक्ष लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरण राज्यविरुद्धको अपराध हो भन्दै यसमा संलग्न कोही पनि छुट्न नहुने बताउनु भयो ।
उहाँले नक्कली भुटानी शरणार्थी विषयको अनुसन्धान प्रहरीले नगरी अख्तियारलाई बुझाउने होकी भन्ने आशङ्का नागरिकमा उब्जिएको भन्दै यस्तो गल्ती नगर्न समेत सरकारको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म भएका प्रक्रियाका विषयमा सदनमा जानकारी गराउन सरकारलाई रुलिङ गर्न समेत सभामुखलाई आग्रह गर्नुभयो ।
यस्तै सांसद सुशीला श्रेष्ठले कोसी प्रदेशको नामकरणपछि त्यहाँ उत्पन्न भइरहेका समस्याका विषयमा सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा सभामुख देवराज घिमिरेले संसदमा उठेका विषयमा सरकारको ध्यानाकर्षण समेत गराउनुभयो ।
यस्तै बैठकको शुन्य समयमा सांसदहरुले समसामयिक विषय राजनीतिक घटनाक्रम र विकास तथा पूर्वाधार निर्माण लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
समयमा मल नपाउँदा किसान मारमा परेको, दुर्गम भेगमा दूरसञ्चार सेवा पुर्याउनु पर्ने, सबै भन्दा ठूलो विश्वविद्यालयका विद्यार्थी समयमा रिजल्ट नआउँदा समस्या खेप्न बाध्य भइरहेको लगायतको विषयमा सरकारको ध्यानाकर्षण गराउनु भयो ।
देशका विभिन्न भागमा सडक निर्माण तथा जीर्ण सडकको स्तरोन्नति, पुल निर्माण, विकास निर्माणको काम प्रभावकारी रुपमा अगाडी बढ्न नसकेको, भ्रष्टाचार न्युनिकरण गरी सुशासन स्थापना गर्न सबै लाग्नु पर्ने लगायतका विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्