किसान सूचीकरण गर्दै कावासोती नगरपालिका

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले दोस्रो चरणको किसान सूचीकरण कार्य सुरु गरेको छ ।
नगरपालिका भित्र रही कृषि, पशुपन्छी तथा मत्स्य व्यवसायमा आबद्ध किसानहरूको लगत सङ्कलनका लागि किसान सूचीकरण कार्यक्रम शुरु गरिएको थियो । गत वर्ष दुई वटा वडामा गरि कुल २ हजार १४४ किसान सूचीकरण गरिएको छ । वडा नम्बर ५ र १७ मा गत वर्ष सूचीकरणको काम गरेको कावासोती नगरपालिकाले यसवर्ष तीनवटा वडाहरूमा दोस्रो चरणमा किसान सूचीकरणको काम सुरु गरेको छ । यो वर्ष वडा नम्बर १, ४ र ६ मा किसान सूचीकरणको काम गरिने नगरपालिका कृषि शाखा प्रमुख शिवनारायण कुमालले बताउनुभयो ।
नेपाल सरकारले जारी गरेको किसान सूचीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७ अनुसार विभिन्न पेसामा आबद्ध रहेका किसानहरूको पहिचान गर्नका लागि किसान सूचीकरण सुरु गरिएको हो । किसान सूचीकरणका लागि सहजकर्ता खटाइएको छ । तीनवटा वडामा सूचीकरणमा खटिने सहजकर्तालाई अभिमुखीकरण तालिम समेत प्रदान गरिएको शाखा प्रमुख कुमालले बताउनुभयो ।
किसान सूचीकरणका लागि आफ्नै व्यक्तिगत सम्पर्क नम्बर, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गा पुर्जाको प्रतिलिपि र पासपोर्ट साइजको एक प्रति फोटो आवश्यक पर्ने छ ।
किसान सूचीकरणसँगै किसानको वर्गीकरण गरिने समेत उहाँले बताउनुभयो । सूचीकरण र वर्गीकरण पश्चात् नगरपालिकाबाट किसानका लागि प्रदान गर्ने सुविधा पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुग्ने शाखा प्रमुख कुमालले बताउनुभयो ।
नगर सहित प्रदेश र संघीय रुपमा समेत यही तथ्याङ्क प्रयोग हुने भएकाले ती क्षेत्रबाट प्राप्त गर्ने अनुदान सहित अन्य सुविधा प्रदान गर्ने क्रममा व्यवस्थित बनाउन किसान सूचीकरणले सहयोग पुर्याउने उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्