मौरी व्यवसायबाट वार्षिक साढे ५ लाख आम्दानी

स्याङ्जा । वालिङ-१० का दिपक सुवेदी विगत सात वर्षदेखि मौरी पालन गर्दै आउनुभएको छ । कुनै दिन व्यापारी समेत रहनुभएका सुवेदीले मौरीमा सम्भावना देखेपछि विगत ७ वर्षदेखि मौरी पालन गर्दै आउनुभएको हो । सुवेदीले नेपाल कृति कृषि तथा मौरीपालन फर्म दर्ता गरेर व्यावसायिक मौरी पालनमा लाग्नुभएको हो । यतिबेला सुवेदीले मौरीका घारहरू विभाजन गरी मौरी घार बिक्री वितरण गरिरहनुभएको छ ।
मौरी गोलासहितको घार अहिले १५ हजारमा बिक्री वितरण भइरहेको सुवेदीले बताउनुभयो । घारहरू बिक्री गरेपनि उहाँको फर्ममा ५२ मौरीका घारहरू भने यथावत् रहन्छन् । वैशाखको महिना घार विभाजन तथा बिक्री गर्ने समय हो । २०७२ सालमा ५ घारमा अध्ययन गर्नुभएका सुवेदीले अहिलेसम्म कुनै तालिम भने लिनुभएको छैन । तिनै ५ घार उहाँको लागी मौरी पाठशाला बन्यो । अहिले सुवेदीको गाउँ बर्तुङ फूलबारी नै मौरीमय बनेको छ ।
सुवेदीले मौरीपालन शुरु गर्दा गाउँमा अरू कसैको घरमा मौरी थिएन अहिले भने प्रत्येकका घरघरमा मौरीका घारहरू सेताम्मे देखिन्छन् । मौरीको अभियन्ताका रुपमा समेत चिनिनुभएका सुवेदीले किताब, युट्युबमा हेरेर नै मौरीपालनको ज्ञान आर्जन गर्नुभएको हो । उहाँले आफ्नो फर्म तथा फर्ममा काम गर्दाका भिडियो युट्युबमा समेत राख्नुभएको छ ।
बढ्दो प्रविधिको विकास भइरहँदा सुवेदीले प्रविधिको प्रयोग गर्दै विभिन्न जिल्लाका कृषकहरूले राखेका जिज्ञासा प्रयोगात्मक रुपमा समेत देखाउने गर्नुभएको छ । मौरीको ज्ञान आदानप्रदान गर्नका लागी सुवेदीलाई म्यासेन्जर तथा भिडियो कलहरू माध्यम बनेका छन् ।
सुवेदीले भन्नुभयो, ‘मौरी पालन न बाजेले गरेको न बाले गरेको,े गाईभैँसी भन्दा फरक मौरी पालनको व्यवस्थापन पक्ष मुख्य कुरा हो ।’ मौरीपालनका लागी त्यति धेरै लगानी गर्न नपर्ने भन्दै सुवेदीले भन्नुभयो, ‘स्वतन्त्र किरा मौरीबाट हामीले आम्दानी लिन सक्छौँ । यसको सही व्यवस्थापन तथा रेखदेख गर्न सकियो भने मात्र ।’
वैशाख महिना मौरी विभाजन गरेर मौरीगोला घार बेच्ने सिजन हो । मौरी घारलाई एकबाट दुई, दुईबाट चार बनाउन सकिने भएकाले यसमा धेरै लगानी नपर्ने सुवेदी बताउनुहुन्छ । फुल फुल्ने एरिया, चिउरी, कटुस, चिलाउनी, मकै धान कोदो, तरकारी फलफूलका रसहरू मौरीले लिन्छन् र सोही रसबाट मह उत्पादन गर्छन् । जङ्गलको नजिक, तथा तरकारी एवम् फलफूल अन्नबालीको नजिक घारहरू राख्न सकिन्छ ।
सुवेदीले एक सिजनमा एक क्विन्टल मह बिक्री गर्नुहुन्छ भने दुई सिजन दुई लाखको मह, साढे ३ लाखको मौरी बिक्री गर्दै आउनुभएको छ । वर्षाको समयमा फुलको रस पानीले बगाउने र मौरीले रस लिन नपाउने भएकाले चिनीको चास्नी दिने गरिएको उहाँको भनाई छ । चास्नी मौरीको जीवन बचाउनका लागि दिइने गरिन्छ ।
अन्य क्षेत्रमा भन्दा मौरी व्यवसायमा थोरै लगानीमा धेरै मुनाफा आर्जन गर्न सकिने उहाँले बताउनुभयो । कृषि तथा पशुपालनमा लागेकाहरूलाई हेर्ने दृष्टिकोण फरक हुँदा तथा यसको व्यवस्थापनमा राज्यले ध्यान नदिँदा युवाहरू स्थापित हुन नसकेको उहाँको गुनासो छ ।








प्रतिक्रिया राख्नुहोस्