तपाईँ सुन्दै हुनुहुन्छः

धनुषाको नगराईन नगरपालिका पूर्णखोप नगर घोषणाको तयारीमा

जनकपुरधाम । धनुषा जिल्लाको नगराईन नगरपालिका पूर्ण खोप नगर घोषणाको अन्तिम चरणमा पुगेको छ । नगरपालिकामा रहेको ९ वटा वडा मध्ये ५ वटा वडा हालसम्म पूर्ण खोप वडाको रुपमा घोषणा भइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले जानकारी दिनु भएको छ । 

नगरपालिकाको अति पछाडि परेको वडाको रुपमा रहेको वडा नंं १ को विभिन्न टोलहरू आज देखि पूर्ण खोप घोषणा भएको छ । वडामा रहेको मुसहरी, बहीरी, हाँसपट्टी र खड्का टोल आज देखि पूर्ण खोप टोलको रुपमा घोषित भएको छ । 

सो वडाहरूमा रहेका जन्म देखि १५ महिनासम्मका कुनै पनि बालबालिकाहरू खोप लिनबाट बञ्चित नभएकोले आज देखि पूर्ण खोप वडाको रुपमा घोषणा गरिएको नगरप्रमुख विनय कुमार यादवले जानकारी दिनु भएको छ । खड्का टोलमा पूर्ण खोप घोषणा कार्यक्रममा नगरप्रमुख यादवले बताउनु भयो । 

वडा नंं १ का वडाध्यक्ष सीताराम महतोको अध्यक्षतामा भएको पूर्ण खोप घोषणामा नगरप्रमुख यादवले वडामा भएका सबै शिशुले पाउने बिसीजी देखि १५ महिनाका बच्चाले पाउने एम आर टु नामक खोप पाइसकेकाले पूर्व खोप घोषणा गरिइएको बताउनु भयो ।  

वडामा भएका सबै घर धुरीमा नगरपालिकाको स्वास्थ्यकर्मी पुगेर खोप लिन छुटेकाहरूलाई खोप प्रदान गरेर पूर्ण खोप वडा घोषणा गरिइएको छ । यस अघि नगरपालिकाको वडा नंं ३, ४, ८ र ९ पूर्ण खोप वडा घोषणा भइसकेको छ । बाँकी रहेको ४ वटा वडा यसै महिना भित्रमा पूर्ण खोप वडा घोषणा गर्ने पक्षमा नगरपालिका रहेको स्वास्थ्य क्षेत्रमा लामो समयसम्म काम गर्नु भएका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले जानकारी दिनु भएको छ । 

नगरपालिकाले तीन वर्षको अथक प्रयास पछि सम्पूर्ण नगरपालिकालाई नै पूर्ण खोप नगर घोषणा गर्ने अवस्थामा पुगेको नगरपालिकाले जनाएको छ । अहिले हरेक वडामा नियमित खोप दिनका लागि महिला स्वयंसेविका सहितका कर्मचारी परिचालन गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button