तपाईँ सुन्दै हुनुहुन्छः

निकृष्ट काममा लगाउने हेटौँडाका तीन होटल कारबाहीमा

मकवानपुर । श्रम कार्यालय हेटौँडाले बालबालिकालाई निकृष्ट काममा लगाउने हेटौँडाका तीन होटललाई कारबाही गरेको छ । सोमबार अनुगमनका क्रममा हेटौँडा–१० बसपार्क क्षेत्रमा रहेको धादिङ, डाँफे र गण्डकी होटलले बालबालिकालाई निकृष्ट काममा प्रयोग गरेको पाइएपछि होटललाई कारबाही गरिएको हो  । 

कार्यालयकाका अनुसार धादिङ होटललाई ११ बर्ष उमेरकी बालिकालाई श्रममा लगाएको भन्दै ७ हजार, डाँफे होटललाई १५ बर्षीय बालक र गण्डकी होटलले १६ वर्षीय बालिकालाई काममा लगाएको भन्दै ३/३ हजार रुपियाँ जरिवाना गरिएको हो । कारबाहीमा परेका उनीहरूले आगामी दिनमा होटलमा बालश्रमको प्रयोग नगर्ने प्रतिबद्धता समेत जनाएका छन्  । 

आगामी मङ्सिर मसान्तसम्म बालमैत्री पालिका घोषणाको तयारीमा रहेको हेटौँडा उपमहानगरपालिकाले गत वैशाख २० गते बसपार्क क्षेत्रका होटलमा बालश्रममा लगाइएको ४ जनाको उद्धार गरेको थियो । उद्धार गरिएका मध्ये एक जना जन्म दर्ताका आधारमा परिवारमा पुनर्स्थापना भएका छन् भने अन्य तीन जनालाई सोमबार श्रम कार्यालयमा बालश्रमबारे आवश्यक परामर्शसहित परिवारको जिम्मा लगाइएको छ । 

यसअघि उपमहानगरको नगर बाल अधिकार समिति अन्तरगतको बालश्रमिक उद्धार तथा पुनर्स्थापना उपसमितिको नेतृत्वमा गएको अनुगमन टोलीले बसर्पाकका विभिन्न तीन होटलबाट कानुनविपरित श्रममा लागिरहेका बालबालिकाहरूको उद्धार गरेको थियो । अनुगमन टोलीले कैलाश गाउँपालिका घर भई विगत १० महिनादेखि बसर्पाकस्थित डाँफे होटलमा काम गरिरहेका १५ वर्षीय बालक , डाँफे होटेलबाटै भीमफेदी गाउँपालिका–६, माण्डु घर भएकी १५ वर्षीया बालिका, धादिङ होटल एण्ड लजबाट धादिङको रोराङ गाउँपालिका घर भएकी १३ वर्षीया बालिका र गण्डकी होटल एण्ड लजबाट भीमफेदी–५ सुपिङ घर भएकी १५ वर्षीया बालिकाको उद्धार गरेको थियो ।

बालश्रम ऐन (निषेध तथा नियमित) २०५६ अनुसार १४ बर्ष भन्दा मुनिका बालबालिकालाई श्रममा प्रयोग गर्न नपाउने व्यवस्था रहेको छ भने १४ देखि १८ बर्ष समूहको हकमा श्रम कार्यालयबाट श्रम अनुमति लिएर प्रयोग गर्न पाउने प्रावधान भएपनि उनीहरूलाई निकृष्ट श्रममा प्रयोग गर्न नमिल्ने व्यवस्था रहेको छ । यदि कानुन उल्लङ्घन गरेका ३ महिना कैद वा ५० हजार रुपियाँसम्म जरिवाना वा दुवै हुने व्यवस्था छ । उपमहानगरको प्रारम्भिक चरणको तथ्याङ्क अनुसार हेटौँडामा ६३ जना श्रमिक बालबालिका रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button