तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा गाई भैँसीमा लम्पीस्किन रोग संक्रमण तीव्र फैलिँदै 

सल्यान । सल्यानमा गाई भैँसीमा लम्पीस्किन रोग संक्रमण तीव्र रुपमा फैलिएको छ । 

लम्पीस्किन रोगबाट हालसम्म जिल्लामा १ सय ५० भन्दा बढी पशु चौपाया मरिसकेका छन् । 

कालीमाटी गाउँपालिकाबाट फैलिएको रोग अहिले सबै पालिकामा फैलिएको छ । खेतीपातीको सिजन सुरु हुँदै लाग्दा रोगबाट पशुचौपाय मर्न थालेपछि किसान चिन्तित हुन थालेका छन् । 

बालीनाली लगाउने सिजन हँुदै गर्दा बस्तुभाउ मर्न थालेको स्थानीय किसान भुपेन्द्र केसीले बताउनुभयो । गाउँघरका सबै गाई गोरुमा रोग फैलिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– “कुटो कोदालोले बारी खनेर साध्य छैन र जोत्ने गोरु बिरामी छन् । बारी केले जोत्ने हो समस्या छ ।”

गाई गोरुमा मात्र देखिएको रोग पछिल्लो समय भैँसीमा समेत देखिन थालेपछि थप समस्या आएको अर्का किसान गुमबहादुर कँवरले बताउनुभयो । 

यो रोग ‘क्याप्री पोक्स’ नामक जीवाणुका कारण हुने गर्दछ । गर्मीयाममा लामखुट्टे, झिँगा लगायतका कारण यो रोगको प्रकोप देखिने गरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ ।  

गाई भैँसीमा यो रोग देखा परेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखा पर्ने पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका कार्यालय प्रमुख गोविन्द महले बताउनुभयो  । भ्याक्सिनको सटेज भएपछि काठमाडौँबाट मगाएर औषधी उपचार गर्ने प्रयास भइरहेको उहाँको भनाई छ । 

कर्णाली प्रदेशका १० जिल्ला मध्ये सल्यानमा यो रोगको संक्रमण बढी फैलिएपछि प्रदेशबाट विज्ञ टोली आएर समेत रोगका बारेमा जानकारी समेत लिएको छ । 

संक्रमण फैलिएको स्थानबाट नमुना सङ्कलनको काम भइरहेको पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला कर्णाली प्रदेशका विकास श्रेष्ठले बताउनुभयो । 

तीव्र रुपमा रोग फैलिँदै गएपछि कर्णाली प्रदेश सरकारले उक्त रोग विरुद्धको भ्याक्सिन खरिद प्रक्रिया अघि बढाएको छ । 

यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिँगालगायतको टोकाइबाट लाग्ने गर्दछ । सङ्क्रमित गाईबस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ । 

रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button