२९ लाख ४४ हजार मूल्य बराबरको सुन र बहुमूल्य पत्थरसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले भारतबाट अवैध रूपमा भित्र्याउँदै गरेको अवस्थामा २९ लाख ४४ हजार मूल्य बराबरको सुनका सिक्री, हिरा तथा विभिन्न बहुमूल्य पत्थरहरूसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारतको रक्सौलबाट वीरगञजतर्फ आउँदै गरेका भारत हौँडा जिल्ला डोमजुर ग्राम पञ्चायत बदमपुरटोल निवासी ४५ वर्षीय बुद्धदेव मैतीलाई सुनको सिक्री २७ थान, हिरा जस्तो टल्कने कालो सेतो पत्थर, बहुमूल्य धातु हरियो पन्ना, रुबी लगायतका बहुमूल्य पत्थरहरूसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी निर्मल बुढाथोकीले जानकारी दिनुभयो ।
बरामद गरिएको सुन र पत्थरको मूल्य २९ लाख ४४ हजार भन्दा धेरै रहेको उहाँले बताउनुभयो । पक्राउ परेकालाई थप कारबाहीका लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको डीएसपी बुढाथोकीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्