मेरो कुनै गल्ती छैन, म डराउँदिनँ : सांसद राणा

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा आरजु राणा देउवाले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफूलाई नियतबस र जबर्जस्ती तान्न खोजिएको भन्दै त्यसमा आफूले नबिराएकाले नडराउने बताउनुभएको छ ।
प्रतितिधिसभको आजको बैठकमा आफूमाथि लक्षित गर्दै उठेका प्रश्नको जवाफमा उहाँले आफूले त्यस प्रकरणका बारेमा थाहा नपाएको स्पष्ट गर्नुभयो ।
उहाँले आफू नभएको दिनमा आफ्नो नाम जोडेर अनेक थरी प्रश्नहरू उठाइएको र नक्कली मान्छेहरू खडा गरेर अडियो बनाइएको देख्दा र सुन्दै आफूलाई निकै दुःख लागेको बताउनुभयो ।
उहाँले आफूले कसैका बारेमा कुनै टिकाटिप्पणी नगरी आफ्नै हिसाबले समाजसेवा र राजनीति गरेको तर आफ्ना विरुद्धमा भने नियोजित रूपमै दुष्प्रचार गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘एउटा नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सैह्य हुँदैन रहेछ । पुरूषले भनेको ठाउँमा मात्र नारी बस्नुपर्ने, उनीहरूले भनेको भाषा मात्रै हामीले बोल्नुपर्ने, उनीहरूले भनेको मात्र हामीले अभ्यास गर्नुपर्ने, कुनै पनि नारी अलिकति सार्वजनिक जीवनमा आयो भने पुरूषहरूलाई असैह्य हुने परिस्थिति बनेको छ । तर पनि जसले जति आलोचना गरे पनि मैले बिराएको छैन, म डराउन्नँ ।’
उहाँले अहिले चर्चामा रहेको शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता त के त्यो प्रकरणका बारेमा थाहासमेत नपाएको बताउनुभयो । साथै उहाँले आफूविरुद्ध प्रचार गर्ने नेता या जो कसैलाई पनि तथ्यमा आधारित भएर बोल्न पनि आग्रह गर्नुभयो ।
उहाँले आफू र श्रीमान् शेरबहादुर देउवाको सम्पत्ति विवरण नेपाल सरकारलाई बुझाएको बताउँदै सबै सांसदहरूको पनि सम्पत्ति विवरण वेबसाइटमा प्रकाशित गर्न र कसको के कति सम्पत्ति छ, बढ्यो या घट्यो भन्ने बारेमा जनताले सबैले थाहा पाउने परिस्थिति बनाउन पनि माग गर्नुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्