महशुल नतिरेपछि प्रादेशिक अस्पतालको विद्युत् एक घण्टा काटियो

जनकपुरधाम । मधेश प्रदेश सरकारको गौरवको योजनाको रुपमा रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालनमा रहेको प्रादेशिक अस्पतालको विद्युत् सेवा १ घण्टा काटेर अवरुद्ध गरिएको छ ।
प्रादेशिक अस्पताल जनकपुरधामले नेपाल विद्युत् प्राधिकरण जनकपुर वितरण केन्द्रको १ करोड २० लाख विद्युत् महशुल तिर्न बाँकी रहेको र पटक पटक ताकेता गर्दा पनि महशुल नतिरेपछि दिउँसो पौने दुई बजे विद्युत् लाइन प्राधिकरणले काटेपछि अस्पतालमा समस्या उत्पन्न भएको थियो ।
एक घण्टा विद्युत् काटेपछि अस्पतालका व्यवस्थापन तथा प्राधिकरणका बीचमा १५ दिन भित्रमा बाँकी महशुल तिर्ने लिखित सहमतिको आधारमा प्राधिकरणले विद्युत् पुनः जडान गरिदिएको छ ।
प्रादेशिक अस्पताललाई मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयबाट २ करोड अनुदान वैशाख भित्रमा प्राप्त हुने भएकाले त्यसै रकमबाट प्राधिकरणको महशुल तिरिदिने सहमति भएको छ ।
प्रादेशिक अस्पताल मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत गएपछि यसको सञ्चालन तथा व्यवस्थापनमा सुधारको साटो बिग्रेको आम सेवाग्राही तथा मधेश सरकारले पनि महसुस गरेपनि यसको सही व्यवस्थापन नहुँदा अस्पतालको सेवामा निर्भर रहेका विपन्न तथा मध्यम वर्गका व्यक्तिहरू मारमा परेका छन् ।








प्रतिक्रिया राख्नुहोस्