प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाप्रति सरकार प्रतिबद्ध : प्रधानमन्त्री
राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान २०७९ प्रदान

काठमाडौँ । सरकारले राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान २०७९ प्रदान गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सिंहदरबारमा आयोजना गरेको पुरस्कार वितरण समारोहमा ६ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार र दुई जनालाई वरिष्ठ पत्रकार सम्मान २०७९ ले सम्मान गरेको हो ।
वरिष्ठ पत्रकार सम्मान २०७९ बाट वरिष्ठ पत्रकार राजेन्द्र दाहाल र बलराम थापालाई सम्मान गरिएको छ भने राष्ट्रिय पत्रकारिता पुरस्कारबाट ६ जना सम्मानित हुनुभएको छ ।

पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह नै मान्यता प्रदान गरी संरक्षण गर्ने नीति लिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले सञ्चार क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले पहल गरिरहेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमा आएका विकृति रोक्ने जिम्मेवारी सञ्चारकर्मीहरूको भएको पनि बताउनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने र यसमार्फत जनताको जीवनमा रूपान्तरण ल्याउनु राजनीति र पत्रकारका दुवैको दायित्व भएको बताउँदै पत्रकारको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

मन्त्री शर्माले सकार र सञ्चार क्षेत्रको सहकार्य आवश्यक रहेको भन्दै सञ्चार क्षेत्रको विकास र पेशागत सुरक्षामा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर रावतले लोकतन्त्रका पहरेदार पत्रकारिता थप व्यावसायिक र जिम्मेवार बन्न पत्रकारिता दिवसले उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले राज्यले नेपालको पत्रकारिताको अभिभावकत्व ग्रहण गरेको बताउँदै सञ्चार क्षेत्रका समस्या समाधानमा सरोकारवालासँगको सहकार्यमा जोड दिन आग्रह गर्नुभयो ।
सम्मानित हुने पत्रकारहरूको तर्फबाट वरिष्ठ पत्रकार राजेन्द्र दाहालले योग्य पत्रकारले पत्रकारिता र पत्रकारितामार्फत लोकतन्त्रलाई बलियो बनाउन महत्त्वपूर्ण सहयोग पुर्याउने बताउनुभयो ।

वरिष्ठ पत्रकार दाहालले पत्रकारका लागि दक्ष र व्यावसायिक बनाउन प्रशिक्षणमार्फत सिङ्गो पत्रकारितालाई पुरस्कृत गर्नेतर्फ ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो ।
आठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज आयोजित समारोहमा राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार अनिता विन्दु, अम्बिका दाहाल, गणेश लम्साल, गम्भीरा सहनी, रामकृष्ण ज्ञवाली र लक्ष्मी आचार्यलाई प्रदान गरिएको छ ।
वरिष्ठ पत्रकार सम्मान जनही दुई लाख रुपैयाँ र राष्ट्रिय पत्रकारिता पुरस्कार जनही एक लाख रुपैयाँ राशिको रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्