तपाईँ सुन्दै हुनुहुन्छः

महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्छौँ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गरिने बताउनुभएको छ ।

गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० को कार्यान्वयन सम्बन्धी दोस्रो राष्ट्रिय कार्य योजनाको कार्यशाला गोष्ठी’ मा बोल्दै उहाँले महिला हिंसाका पीडकलाई कारबाही र पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।

“महिलामाथि हुने हिंसाका दोषीलाई  कारबाही गर्दै पीडितलाई न्याय दिन सरकारले कुनै कसर राख्दैन,” उहाँले भन्नुभयो । महिलामाथि हुने हिंसा अन्त्य गर्न यस्ता गोष्ठीले आफूलाई थप हौसला पुगेको उहाँको भनाइ थियो ।

गृहमन्त्री श्रेष्ठले आफूले गृह मन्त्रालयमा पदभार ग्रहण गरेसँगै शान्ति सुरक्षा, अपराध नियन्त्रणसँगै महिला हिंसा अन्त्य र पीडकलाई कारबाहीको मुद्दालाई उच्च प्राथमिकतामा राखेको बताउँदै गल्ती गर्ने जोकोहीलाई कानुनको दायरामा ल्याउने बताउनुभयो । पछिल्लो समय गृह मन्त्रालयले भ्रष्टाचारी विरुद्ध लिएको नीतिप्रति सकारात्मक टिप्पणी प्राप्त भइरहेको उहाँको भनाइ थियो  ।

उपप्रधानमन्त्री श्रेष्ठले पछिल्लो समय मुलुकका विभिन्न तहमा महिला सहभागिता बढ्नु खुसीको कुरा भएको बताउनुभयो । उहाँले महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि राष्ट्रिय, प्रदेश, जिल्ला र स्थानीय स्तरमा समिति बनाएर कार्यान्वयन गरिने स्पष्ट पार्नुभयो ।

नेकपा(माओवादी केन्द्र)का नेतासमेत रहनुभएका श्रेष्ठले द्वन्द्वकालका घटनालाई सत्य मेलमिलाप तथा बेपत्ता छानबिन आयोगमार्फत टुङ्गोमा पुर्‍याउनुपर्ने बाउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button