राज्यका कामकारबाही पारदर्शी रुपमा जनतासमक्ष ल्याउने दायित्व आमसञ्चार माध्यमको : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यका सबै कामकारबाही पारदर्शी रुपमा जनतासमक्ष ल्याउने दायित्व आमसञ्चार माध्यमको भएको बताउनुभएको छ ।
गोरखापत्र प्रकाशनको १२३ औ वर्ष प्रवेशका अवसरमा आज काठमाडौँमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्डले नागरिक सुसूचित हुनसक्दा मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र सबल हुने हुँदा राज्यका हरेक अङ्ग र निकायलाई कार्यसम्पादनप्रति जिम्मेवार, उत्तरदायी र सबल बनाउन चौथो अङ्गका रुपमा सञ्चार माध्यमले निर्वाह गर्ने भूमिका महत्वपूर्ण हुने स्पष्ट पार्नुभयो ।

सामाजिक विकास र सांस्कृतिक प्रवद्र्धनमा समेत गोरखापत्र दैनिकले महत्वपूर्ण योगदान दिएको स्मरण गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले अहिलेको प्रतिस्पर्धात्मक बजारमा गोरखापत्र दैनिकले जिम्मेवार, व्यावसायिक तथा विश्वसनीय सामग्री प्रकाशन गर्नुपर्नेमा जोड दिनुभयो ।
यस अवसरमा गोरखापत्र संस्थानले सबैभन्दा बढी कारोबार गर्ने विज्ञापन एजेन्सी, उत्कृष्ट विक्री एजेन्ट, उत्कृष्ट कर्मचारी तथा उत्कृष्ट संवाददातालाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।
त्यसैगरी संस्थानले २० वर्ष र २५ वर्ष सेवा अवधि पूरा गरेका आफ्ना कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरेको छ ।










प्रतिक्रिया राख्नुहोस्