तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता गठबन्धनलाई पाँच वर्षसम्म निरन्तरता दिनुपर्छ : जसपा अध्यक्ष यादव

भक्तपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं सांसद उपेन्द्र यादवले वर्तमान पाँचदलीय गठबन्धनलाई निरन्तरता दिएर मुलुकलाई सुशासन र राजनीतिक स्थिरतातर्फ लैजानुपर्ने बताउनुभएको छ ।

भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले अहिलेको सत्ता गठबन्धनलाई पाँच वर्षसम्म निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । सरकारले जनतालाई परिवर्तनको अनुभूति हुने गरी नीति तथा कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाइ छ ।

अध्यक्ष यादवले राजनीतिक दलका नेताप्रति वितृष्णा फैलाउने कार्यसँग आफू सदैव असहमत रहेको बताउँदै मुलुकले अत्यन्तै आर्थिक सङ्कट बेहोरिरहेकाले सरकारले आगामी बजेट शिक्षा, कृषि, स्वास्थ्य र पर्यटन क्षेत्रको उत्थानमा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकार परिवर्तनको हल्ला व्यर्थ रहेको बताउँदै उहाँले भन्नुभयो, “दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाए कसैको हित हुँदैन । अब जनतालाई गरेर देखाउने बेला आएको छ, हाम्रो पाटी शिक्षा, रोजगारी, कृषि, पर्यटन र स्वास्थ्य क्षेत्रमा विशेष ध्यान दिन सरकारलाई आग्रह गर्दछ ।”

अध्यक्ष यादवले नेपाली नागरिकलाई नक्कली भुटानी बनाएर विदेश पठाउँदै कमाउने प्रथा चलेकोबारे आफूले पहिलोपल्ट सुनेको भन्दै यसबारे सरकारले गम्भीर रुपमा छानबिन गरेर जोसुकै दोषी भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button