स्वर्गीय डा लोहनीको पुस्तक ‘सोमहोम’ र ‘जीवन वृक्ष’ लोकार्पण
काठमाडौँ । डा सुवास लोहनीद्वारा लिखित पुस्तक ‘सोमहोम’ र ‘जीवन वृक्ष’को लोकार्पण गरिएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा स्वर्गीय न्यूरोसर्जन डा लोहनीद्वारा लिखित पुस्तक आमा सुभद्रा लोहनी र बुबा घनराज लोहनीले लोकार्पण गर्नुभयो ।

पुस्तकको लोकार्पण गर्दै बुबा घनराज लोहनीले भन्नुभयो, “२०७८ सालको बडादसैँको अवसरमा उनले यो पुस्तक आफैँले प्रकाशन गरी हामीलाई उपहार दिने योजना थियो । उनी रहेनन्, हामीले आज प्रकाशन गरेर लोकार्पण गरेका छौँ ।”
लोकार्पण कार्यक्रममा पुस्तकबारे डा हरिप्रसाद पोखरेलले आध्यात्मिक र आधुनिक विज्ञानबिचको सेतु बन्न डा लोहनीको पुस्तकले सृजनात्मक भूमिका खेल्ने बताउनुभयो ।
डा जगमान गुरुङले शुभकामना सन्देशमा जीवन वृक्ष पुस्तक दर्शन र कलाको अनुपम संयोजन भएको बताउनुभयो । कार्यक्रममा डा सुवासका सहपाठी, शिक्षक, सहकर्मी, शुभचिन्तक र परिवारले पुस्तकबारे समीक्षा र टिप्पणी गर्नुभएको थियो ।
बुवा घनराज लोहनीले पुस्तकबाट आर्जित रकम डा सुवास लोहनीको स्मृतिमा ललितपुर माध्यमिक विद्यालयका विद्यार्थीलाई ‘चम्किला तारा’ नामक पुरस्कारको रुपमा प्रदान गरिने बताउनुभयो । डा लोहनीको स्मृतिमा उहाँको कृतिको प्रचारप्रसारसँगै अनाथालयमा आर्थिक सहयोग गर्ने लोहनी परिवारको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्