तपाईँ सुन्दै हुनुहुन्छः

बजेट तयारीका लागि पूर्व अर्थ मन्त्रीसँग अर्थमन्त्रीको छलफल

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट तयारीका लागि पूर्व अर्थमन्त्रीहरूसँग छलफल गर्नुभएको छ । पूर्व अर्थमन्त्रीले व्यवहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजना थप नगर्न सुझाव दिनुभएको छ ।

छलफलमा पूर्व अर्थ मन्त्रीहरू ज्ञानेन्द्रबहादुर कार्की, डा प्रकाशचन्द्र लोहनी, डा युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डे सहभागी हुनुहुन्थ्यो । छलफलमा अर्थमन्त्री डा महतले अहिलेको जटिल अवस्थालाई सम्बोधन गर्ने गरी बजेट तयार गर्न आफू प्रयासरत रहेको र यसका लागि सबैबाट सहयोग मिल्ने आशा व्यक्त गर्नुभयो ।

उहाँले पूर्वानुमानको तुलनामा धेरै कम राजश्व उठेको अवस्थामा खर्च कटौती गर्ने, प्राथमिकता प्राप्त आयोजनालाई मात्र बजेट छुट्टाउने र नीजि क्षेत्रको आत्म विश्वास बढाउन आफु लागिपरेको जानकारी गराउनुभयो ।

साथै उहाँले प्रतिफल नदिने आयोजनामा लगानी नगर्ने र तोकिएको समयमै सम्पन्न हुने, कार्यान्वयन तुरुन्तै गर्न सकिने पूर्वाधार आयोजनालाई प्राथमिकता दिने बताउनुभयो । अर्थमन्त्री महतले अन्य पूर्व अर्थ मन्त्रीसमेतबाट निरन्तर सुझाव प्राप्त हुने आशा व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button