तपाईँ सुन्दै हुनुहुन्छः

झापामा भारतीय गाडीबाट २२ लाख ९० हजारको अवैध सामग्री बरामद

भद्रपुर, झापा । पूर्व नाकामा चोरी तस्करीका लागि भारतीय सवारी प्रयोग गरेको पाइएको छ । खाली सवारीहरूमा अवैध रुपमा सामान भित्र्याइएको सुरक्षाकर्मीले फेला पारेका छन् । भारतबाट नेपाल सरसामान लिन आउने भारतीय नम्बर प्लेटको खाली मालवाहक सवारीसाधनले अवैध रुपमा भारतीय सरसामान नेपाल भित्र्याएको भेटिएको हो ।

यसैक्रममा, जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा हिजो बेलुका पूर्व–पश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका–६ स्थित काली खोलामा भारतीय नम्बर प्लेटको खाली ट्रक रोकेर चेकजाँच गर्दा ठूलो मात्रामा भन्सार छलीका सरसामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार भन्सार प्रज्ञापन पत्र कटाएर पश्चिमतर्फ गइरहेको डब्लुबी ७३ एएल ४२६६ नम्बरको ट्रकलाई रोकेर प्रहरीले चेकजाँच गर्दा ट्रकको हुडमाथि त्रिपालले छोपेर भित्र्याइएको करिब २२ लाख ९० हजार मूल्य बराबरको अवैध सरसामान बरामद भएको छ । ट्रकको हुडमाथिबाट प्रहरीले २४ कार्टुन टायल्स, ३ हजार ७८ पिस राधे राधे गम्छा, ३५ थान रेडमी कम्पनीका मोबाइल र विभिन्न प्रकार प्रतिबन्धित औषधि बरामद गरिएको प्रहरीको भनाइ छ ।

बरामद गरिएको सरसामान, ट्रक र ट्रक चालक निरञ्जन रायलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button