तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा डेङ्गुको सङ्क्रमण बढ्यो

खजुरा । बाँकेमा डेङ्गुको सङ्क्रमण बढ्न थालेको छ । 

जिल्लाको कोहलपुरमा पाँचजनामा डेङ्गुको सङ्क्रमण देखिएको हो । 

कोहलपुर नगरपालिकास्थित नगर अस्पतालको प्रयोगशालामा परीक्षण गरिएकामध्ये पाँचमा डेङ्गुको सङ्क्रमण देखिएको अस्पतालका प्रयोगशाला इन्चार्ज दीपक शर्माले बताउनुभयो । उहाँका अनुसार कोहलपुर–२ का दुई, वडा नं ५, ११ र १४ का एक÷एक जनामा डेङ्गु सङ्क्रमण देखिएको हो ।

उनीहरू सबैमा रोगको लक्षण देखिएको छ । अस्पतालका डा रवि शर्मा वाग्लेले सङ्क्रमितलाई अस्पतालको निगरानीमा राखेर उपचारसँगै परामर्श दिइरहेको बताउनुभयो । उहाँका अनुसार बिरामीको स्वास्थ्य अवस्था सुधार भइरहेको छ । 

जिल्ला स्वास्थ्य कार्यालयका कीटजन्य रोगका स्रोत व्यक्ति दुर्गा गौतमका अनुसार डेङ्गु सङ्क्रमण बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य कार्यालयले स्थानीय तहका स्वास्थ्य शाखालाई सतर्कता अपनाउन अपिल गरेको छ ।

आर्थिक वर्ष २०७९÷८० को भदौ, असोज र कात्तिकमा जिल्लामा डेङ्गुको प्रकोप फैलिएको थियो । यी तीन महिनामा मात्रै एक सय ७० जनाभन्दा बढी व्यक्ति डेङ्गुबाट सङ्क्रमित भएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button